३ आश्विन २०८१, बिहिबार 1726730979
Banner

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले दुई तिहाई विश्वासको मत पाएका छन्. नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ गरी मुख्यमन्त्री शाहले ३६ मत पाएका हुन्। ५३ सदस्यीय प्रदेश सभामा यो संख्या दुई तिहाई हो। 

शाहले सुदूरपश्चिममा दोस्रो पटक दुई तिहाई बराबर विश्वासको मत पाएका हुन्। केन्द्रमा सत्ता समीकरण फेरिएसँगै सुदूरपश्चिममा शाह साउनको २० गते मुख्यमन्त्री बनेका थिए। बुधबार विश्वासको मतको पक्षमा ३६ र विपक्षमा ८ मत खसेका छन् भने एकजना तटस्थ बसेका छन्।

५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, नेकपा एमालेका उपसभामुखसहित ११, नेकपा माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य छन्। मुख्यमन्त्री शाहलाई कांग्रेस, एमाले र नाउपाले विश्वासको मत दिएका हुन्। नेपाली कांग्रेस, नेकपा एमाले र नाउपाले आफ्ना सांसदहरूलाई प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेका थिए। तर, नेकपा माओवादी केन्द्र, समाजवादी र राप्रपाले भने ह्विप जारी गरेको थिएन। प्रदेश सभाको अर्को बैठक शुक्रबार दिउसो २ बजे बस्ने गरी स्थगित भएको छ।