४ आश्विन २०८१, शुक्रबार 1726859146
विश्व

काठमाडौंस्थित भारतीय राजदूतावासमा स्वतन्त्रता दिवसको उत्सव

काठमाडौं । काठमाडौं स्थित भारतीय राजदूतावासमा भारतको ७८ औं स्वतन्त्रता दिवस मनाइएको छ ।

नेपालका लागि भारतीय राजदूतले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै सो समारोहको शुभारम्भ भयो । तत्पश्चात कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले राष्ट्रका नाममा गर्नुभएको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरियो । राष्ट्रपतिको उक्त सन्देशमा विगत ७७ वर्षमा विभिन्न क्षेत्रमा भएको प्रगतिमाथि प्रकाश पारिएको थियो र भारतको स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान दिने स्वतन्त्रता सेनानीहरुलाई श्रद्धान्जली अर्पण गरिएको थियो ।

सो अवसरमा राजदूतले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई ५.५० करोड र कम्बल वितरण गरी सम्मान गर्नुभयो । साथै भारतीय सशस्त्र बलका मृतक सैनिकका श्रीमती एवम् १०७ मृतक सदस्यका निकटतम नातेदारहरुका लागि नेरु १२।५५ करोड भुक्तानी दिइएको छ । यस भुक्तानीमा आर्मी ग्रुप इन्स्योरेन्स (एजीआई) कार्यक्रम अन्तर्गत वर्ष २०२४ का लागि डेथ–इन–सर्भिस, एक्सटेन्डेड इन्स्योरेन्स र एजीआई परिपक्वता भुक्तानी लगायतका लाभहरु समावेश छन् ।

दूतावासले नेपालका पाँच प्रदेशका २१ वटा शैक्षिक संस्था र पुस्तकालयका लागि पुस्तक अनुदानको पनि घोषणा गर्‍यो । यस पहलले प्राप्त अनुरोधको प्रत्युत्तरमा दुर्गम क्षेत्रका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउने लक्ष्य राखेको छ ।दूतावासका अधिकारी तथा उनीहरुका परिवारका अलावा नेपालमा रहनुभएका भारतीय समुदायका सदस्य तथा भारतका मित्रहरुले भारतको ७८ औं स्वतन्त्रता दिवसको उत्सवमा सहभागीता जनाएका थिए । कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका शिक्षक तथा विद्यार्थीले देशभक्ति गीत र नृत्य प्रस्तुत गरेका थिए ।

आजको कार्यक्रम दूतावासको सोसल मिडिया ह्यान्डलहरुमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।