कटारी,५ भदौ : उदयपुरको कटारी नगरपालिका–३ राजावासस्थित फोहर विर्सजनस्थल (डम्पिङ साइट) मा आज बिहान फेला परेको बेवारिसे शवको पहिचान खुलेको छ । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष राईका अनुसार उक्त शव जिल्लाकै ताप्लि गाउँपालिका–१ का ५० वर्षीय कृष्णबहादुर दमाईको हो । दमाईको नाति पर्ने ३४ वर्षीय मिनबहादुर परियारले शवको आज साँझ शवको पहिचान गर्नुभएको हो । “विगत १५ वर्षदेखि घर छोडेर हिनेका रहेछन् । काठमाडौँ हुँदै कटारी आइपुगेका छन्,” उपरीक्षक राईले भन्नुभयो, “कटारी बजार आसपासमा पुराना खाली बोतल टिपेर हिँड्ने गरेका रहेछन् ।” बेवारिसे शवलाई प्रहरीले कटारी अस्पतालमा शव परीक्षणका लागि राखेको थियो ।
कटारी–३ राजावासका स्थानीय देव ढुङ्गेलका अनुसार बिहान फोहर विर्सजनस्थलमा काम गर्ने स्थानीय पुग्दा उनको शव देखेका थिए । “गाउँको मान्छेले डम्पिङ साइटमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए”, ढुङ्गेलले भन्नुभयो , “फोहरमा रहेको कवाडी टिप्नका लागि यहाँ आउने गरेका रहेछन् ।” मदिरा सेवन गरी फोहरसँगै सुतेकै अवस्थामा दमाईको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । शव परीक्षण पश्चात शवलाई परिवारको जिम्मा लागउने तयारी गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।