३ आश्विन २०८१, बिहिबार 1726782985
अर्थ

ठेकेदार कम्पनीसँगको सम्झौता तोड्न सक्ने सरकारको चेतावनी

नवलपुर, भदौ १६ गते। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नारायणघाट-बुटवल सडक खण्डको ठेकेदार कम्पनीसँगको सम्झौता तोडिन सक्ने चेतावनी दिनुभएको छ। बुटवलदेखि नारायणघाटसम्मको सडक अनुगमनपछि नवलपुर सदरमुकाम कावासोतीमा आयोजित कार्यक्रममा मन्त्री दाहालले यस्तो चेतावनी दिनुभएको हो। 

अनुगमनका क्रममा सडकको भौतिक प्रगति सन्तोषजनक नरहेको उहाँको भनाइ छ। चिनियाँ ठेकेदार कम्पनीले सोचेअनुसार काम नगरेकाले चिनियाँ राजदूतमार्फत कुरा गर्नु पर्ने र काम गर्न नसक्ने हो भने ठेक्का तोडिने बताउनुभयो। 

‘सडक विस्तारका लागि अन्तिम पटक म्याद थपिएको हो, चिनियाँ ठेकेदारले अन्तिम अवधिमा पनि काम गर्न सकेन भने सडकलाई यत्तिकै लथालिङ्ग अवस्थामा छोड्ने कुरा हुँदैन, राज्यलाई घाटा नै भए पनि सरकार ठेक्का तोड्न तयार छ,’ मन्त्री दाहालले भन्नुभयो। 

अबको केही समय भित्र परिणाम नदेखिए सरकार धेरै सोचेर बस्ने अवस्थामा नरहने उहाँको भनाइ छ। ‘ठेकेदार कम्पनी कोमामा पुगिसकेको घोषणा हामीले गरेका छैनौँ तर त्यो दिशा तिर गइरहेको छ’, मन्त्री दाहालले भन्नुभयो।   

भौतिक तथा पूर्वाधार मन्त्रालयका सचिव केशव शर्माले ठेकेदार कम्पनीले अन्तिम पटक थपिएको समयावधिमा काम सम्पन्न गर्ने विश्वास गर्नुभयो। ‘इमान्दारी पूर्वक प्रयास गर्दा गर्दै सकेनछ भने दुई तीन महिना थप्न सकिन्छ, नभए जरिवाना असुल गर्ने अर्को प्रक्रिया हुन सक्छ, त्यो पनि भएन भने ठेक्कै तोडेर नयाँ ठेक्का गर्ने प्रक्रिया अघि बढाउनु पर्ने अवस्था आउँछ’, सचिव शर्माले भन्नुभयो। 

नारायणघाट बुटवल सडक खण्डको हालसम्मको भौतिक प्रगति ५२ प्रतिशत रहेको ठेकेदार कम्पनीले जनाएको छ। झण्डै १७ अर्बमा ठेक्का सम्झौता भएकोमा सरकारले ४५ प्रतिशत रकम भुक्तान गरिसकेको सचिव शर्माले जानकारी दिनुभयो। 

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री महेन्द्रध्वज जिसीले ठेकेदार कम्पनीको लापरबाही अत्यधिक बढेको भन्दै जनताले भने झैँ सडकमा लगेर कोर्रालगाउनु पर्ने अवस्था आएको बताउनुभयो। जिसीले ठेकेदारले यही ढङ्गले लापरबाही गरे सरकारले यसको विकल्प खोज्नु पर्नेमा पनि जोड दिनुभयो। 

 गण्डकी प्रदेश सभा सदस्य विन्दु पौडेलले बुटवल-नारायणगढ सडकका कारण यात्रु तथा यहाँका स्थानीयले निकै सास्ती खेप्नु परेको उल्लेख गर्दै तत्काल ठेकेदार कम्पनीसँग छलफल गरेर द्रुतगतिमा काम गर्न निर्देशन दिनुपर्नेमा जोड दिनुभयो।