३१ भाद्र २०८१, सोमबार 1726539492
पालिका

चुनावमा जनाएको प्रतिबद्धताको ८० प्रतिशत काम गरिसक्यौँ : वडाध्यक्ष बालकृष्ण श्रेष्ठ

भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले चुनावका बेला जनतामाझ घोषणापत्रमार्फत जनाएको प्रतिबद्धता ८० प्रतिशत पूरा गरिसकेको जानकारी दिए ।

‘हामीले काम गर्ने भनेर घोषणापत्रमा उल्लेख गरेका ८० प्रतिशत काम गरिसक्यौँ,’ उनले भने । आफ्नै वडाका मेयर, उपमेयर तथा प्रदेशसभा सदस्य राजेन्द्रमान श्रेष्ठ पनि ४ नम्बर वडाकै भएकै कारण पनि विकास निर्माण काम गर्न सकिएको बताए ।

विकास निर्माणका काम गर्न आफ्नो वडामा कुनै समस्या नभएको उनले जानकारी दिए । थोरै रकमले पनि धेरै काम गर्न सकिएको वडाध्यक्ष श्रेष्ठले बताए ।

बिस्का जात्राका २३ वटा खटमध्ये १४ वटा खट ४ नम्बर वडामै पर्ने भएकाले यसको सांस्कृति पक्षको प्रवद्र्धनमा ध्यान दिएको उनले बाजागाजसहित लोप हुन लागेका सांस्कृतिक पक्षको जेगर्ना गर्ने कार्य गरिरहेको बताए । लोप हुन लागेका भजनदेखि जात्रा तथा बाजालाई आफूले जोगाउने कार्य गर्दै आएको बताएका उनले आफू पनि सांस्कृति क्षेत्रकै व्यक्ति भएकाले पनि यसप्रति विशेष ध्यान दिएको बताए । ४० वर्षदेखि बालकुमारी जात्रामा प्रत्यक्ष सहभागी हुँदै आएको बताएका उनले संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका कार्य प्राथमिकताको साथ काम गरिरहेको जानकारी दिए ।