४ आश्विन २०८१, शुक्रबार 1726866583
Banner

सरकार र संसद्‍लाई प्रभावकारी बनाउने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरूसहितको बैठकले सरकार र संसद् दुवैलाई प्रभावकारी बनाएर लैजाने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा करिब २ घण्टा बसेको बैठकले सरकार र सदन दुवैलाई प्रभावकारी बनाएर लैजाने निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

सरकार बनेको दुई महिना पुग्न लाग्दा पनि सरकारले न्यूनतम साझा कार्यक्रम नबनाएको भन्दै आलोचना भइरहेका बेला सत्तारुढ दलहरूले छलफलबाट न्यूनतम् साझा कार्यक्रमबारे निर्णय गर्ने भनिएको थियो। तर आजको बैठकमा सत्तारुढ दलहरूले कुनै निर्णय गरेनन् ।

‘दुई ठूला शक्ति मिलेर सरकार बनेको अवस्थमा अरु दललाई निषेध गर्न खोजिएको भन्ने होइन । अरुलाई निषेध गर्ने कुरा छैन । आवश्यकताका आधारमा हामी साझा भावनाबाट अघि बढ्ने गरी छलफलमा छौँ’, बर्तौलाले भने, ‘एकीकृत दृष्टिकोणबाट सरकार अघि बढ्छ । संविधान निर्माणका लागि सर्वस्वीकार्य विधि प्रयोग हुन्छ।’ बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेकपा एमाले र नेपाली काँग्रेसबीच सरकार बन्ने बेलामा भएको सात बुँदे सहमतिको सेरोफेरोमा रहेर विस्तृत रुपमा सरकारका न्युनतम साझा कार्यक्रम बनाउने बताए । उनले सात बुँदे सहमतिलाई अझ विस्तृत गर्नेगरी सरकारको न्युनतम साझा कार्यक्रम आउने बताए ।

‘नेकपा एमाले र नेपाली काँग्रेसबीच सरकार बन्ने बेलामा भएको सात बुँदे सहमति भएको थियो । यसलाई अझ विस्तृत रुपमा अघि बढाउने कुरामा सरकार लागेको छ । साझा न्युनतम कार्यक्रम अब सात बुँदे सहमतिअनुसार आउनेछ । त्यसलाई अझ विस्तृत रुपमा हामीले सात बुँदे सम्झौताअनुसार साझा न्युनतम कार्यक्रम ल्याउनेछाँै’, उनले भने ।