४ आश्विन २०८१, शुक्रबार 1726874399
राजनीति

संखुवासभाको स्रोत साधनको उच्चतम प्रयोग गरी आर्थिक विकास गरिने : उर्जामन्त्री खड्का

खाँदबारी संखुवासभा, २४ भदौ । नेपाली कांग्रेसका नेता एवम् उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले संखुवासभाको शिर उच्च राख्नेगरी काम गर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस संखुवासभा जिल्ला कार्यसमितिले आज खाँदबारीमा आयोजना गरेको १११ औँ विपी जयन्ती तथा नवनिर्वाचित उर्जा, जलस्रोत तथा सिंचाईमन्त्रीको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संखुवासभाभित्र रहेको स्रोत र साधनको उच्चतम प्रयोग गरी संखुवासभाको शिर उच्च हुनेगरी काम गर्ने बताउनुभएको हो । 

उहाँले दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारले जनताको आर्थिक विकास र देशको समृद्धिका लागि काम गर्ने बताउनुभयो । “देशको आवश्यकता अनुसार संविधान संशोधन गर्नेगरी दुई दल मिलेका हौँ, यो सरकार पुरा कार्यकाल रहन्छ,”– उहाँले भन्नुभयो । 

मन्त्री खड्काले दुई ठूलो राजनीतिक दल मिलेर देशमा परिवर्तन आएको बताउँदै अब प्राकृतिक स्रोत साधनको उचित प्रयोग गरेर देशको विकास गर्ने उल्लेख गर्नुभयो । अब आर्थिक क्रान्तिको अगुवा कांग्रेसले गर्ने उहाँको भनाई थियो । कांग्रेस नेता खड्काले जनताले रुचाएरजस्तो काम गरिदिन पार्टीबाट निर्वाचित जनप्रतिनिधीलाई आग्रह गर्नुभयो । “अहिले एमालेसँग सरकारको सहकार्य गरेपनि आगामी निर्वाचनमा एमालेसँगै निर्वाचन लड्ने भएकाले  जनताले मूल्यांकन गर्नेगरी काम गर्न लाग्नुहोस्,”– उहाँले भन्नुभयो । 

उर्जामन्त्री खड्काले आगामी १० वर्षभित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको बताउँदै उक्त लक्ष्यलाई पुरा गर्न सरकार लागेको उल्लेख गर्नुभयो । मन्त्री खड्काले संखुवासभामा मात्र झण्डै पाँच हजार मेगावाट विद्युत उत्पादन गर्ने नदी रहेकाले यसको उच्चतम प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले आगामी दुई वर्षभित्र संखुवासभासहित देशभर विद्युतीकरण गरिसक्ने बताउनुभयो । मन्त्री खड्काले संखुवासभाको स्रोत र साधन अधिकतम प्रयोग गरेर संखुवासभाले नेपालभर नै योगदान पु¥याउने गरी काम गर्ने उल्लेख गर्नुभयो । 

कांग्रेस संखुवासभाका कार्यवाहक सभापति अनन्तकुमार गौलीले उर्जा, जलस्रोत र सिंचाईमार्फत देशको विकासमा लाग्नुपर्ने बताउनुभयो । उहाँले संखुवासभामा भएको स्रोत र साधनको उच्चतम प्रयोग गरी समृद्ध संखुवासभा निर्माणमा लाग्ने उल्लेख गर्नुभयो । कांग्रेस संखुवासभाका पूर्व सभापति दिपनकुमार श्रेष्ठले नेपाली जनतालाई रैतीबाट नागरिक बनाउनका लागि विपी कोइरालाको ठूलो योगदान रहेको बताउनुभयो । “विपी कोइराला भन्नुहुन्थ्यो गाउँको विकास भएमात्र देशको विकास हुन्छ, उहाँको विचारलाई पुरा गर्न कांग्रेस लाग्नुपर्छ,”– उहाँले भन्नुभयो  । 
कांग्रेस संखुवासभाका पूर्व सभापति जनक थापाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा विश्वेश्वरप्रसाद कोइरालाको ठूलो योगदान रहेको बताउनुभयो । उहाँले संखुवासभाले पहिलोपटक निर्वाचित मन्त्री पाएकाले संखुवासभाको विकासमा भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा कांग्रेस संखुवासभाका उपसभापति रामकुमार जिमी, सचिव टकमान घले, पाँचखपन नगरपालिकाका प्रमुख विपिन राई, कांंग्रेस महाधिवेशन प्रतिनिधी निर्मला तामाङ बस्नेत, महासमिति सदस्य दिपककुमार लिम्बुलगायतले जिल्लाको जलस्रोतलाई अत्याधिक उपयोग गरी संखुवासभाको विकासमा लाग्न मन्त्रीसँग अनुरोध गर्नुभएको थियो । 

कार्यक्रममा नेपाली कांग्रेस संखुवासभाले जिल्लाको समस्या सम्बोधनका लागि मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको थियो । यस्तै, नवनिर्वाचित मन्त्री खड्कालाई कांग्रेस संखुवासभा जिल्ला कार्यसमिति र जिल्लास्तरिय भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधीले सम्मान गरेका थिए ।