३ आश्विन २०८१, बिहिबार 1726731488
पालिका

‘एक घर एक धारा’ पूरा गरेँ, अब बोझे पोखरीको पानी पिउने बनाउँछु : वडाध्यक्ष केसी

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिकाको ३ वडाका वडाध्यक्ष कुवेर केसीले आफूले जनाएको चुनावी प्रतिबद्धता पूरा गर्दै गरेको बताएका छन् । दोस्रो कार्यकाल गुजारिरहेका उनले पहिलो कार्यकालको बाँकी काम र आफूले जनाएको प्रतिबद्धता पूरा गरेको बताएका हुन् । ‘मेरो पहिलो कार्यकालको ‘एक घर एक धारा’ प्रतिबद्धता पूरा गरिसकेको छु,’ उनले भने, ‘अहिले सबैको घरमा धारा पुगिसकेको छ ।’

साथै अघिल्लो कार्यकालको अधुरो बोझे पोखरीको काम पनि अहिले भइरहेको वडाध्यक्ष केसीले ऐतिहासिक २३ रोपनी ५ आनामा रहेको बोझे पोखरीको सौन्दर्यकरण गर्ने काम पनि भइरहेको बताए । दोस्रो कार्यकालको लक्ष्य बोझे पोखरीमा आएको पानी पिउन योग्य बनाउने र यसको प्रवद्र्धन गर्ने रहेको उनले बताए । यसमा डुंगा प्रयोग गरेर आन्तरिक पर्यटकलाई मनोरञ्जन दिने काम भइरहेको उनले बताए ।

‘मेरो दोस्रो कार्यकालको लक्ष्य भनेको बोझे पोखरीको पानीलाई पिउन योग्य बनाउने भन्ने हो,’ उनले भने, ‘पानीलाई फिल्टर गरेर पिउन योग्य बनाउनेछौँ ।’ विकास निर्माणका काम निरन्तर भइरहने विषय रहेको भन्दै उनले सडक निर्माण तथा ढलको व्यवस्थापनका कार्य पनि भएको बताए ।

आफ्नै कार्यकालमा वडा कार्यकालको भवन बनाउन सकिएको भन्दै वडाध्यक्ष केसीले नगरपालिकाले बनाइदिएको डिजाइन र नक्साअनुसार वडा कार्यालयको भवन बनाउनुपर्दा आफूले सोचेकोजस्तो नभएको बताए । उनका अनुसार वडा कार्यालयको भवन अपांगमैत्री बनाउने सोच थियो ।

भवनको भुइँ तलामा स्वास्थ्य संस्था र हुलाक कार्यालयलाई दिने र बाँकी कोठा वडा कार्यालयले प्रयोग गर्ने उनले बताए । एक दुई हप्तामै नयाँ कार्यालयबाट सेवा प्रवाह हुने वडाध्यक्ष केसीले बताए । वडा क्षेत्रमा रहेका पैनाचल महादेव, सत्यनारायण मन्दिर र बोझे पोखरीकोसंरक्षण र प्रवद्र्धन गरिने उनले बताए ।

काम गर्ने विषय पहिलो कार्यकालमा बाटोको विषयमा विवाद देखिएको भए पनि दोस्रो कार्यकालमा अहिले केही पनि विवाद र चुनौती नरहेको बताए । नागरिकस्तरबाट काम गर्दा सहयोग पाएको उनको अनुभव छ ।