१८ असार २०८३, बिहिबार 1783042707
समाचार

नेपालमा पनि मनाइयो हिन्दी दिवस

काठमाडौं- नेपालमा पनि शनिवार विभिन्न कार्यक्रम गरी  हिन्दी दिवस मनाइयो ।

हिन्दी दिवसका अवसरमा नेपालस्थित भारतीय दूतावासले नेपाल-भारत पुस्तकालय मा एक समारोहको आयोजन गर्‍यो। कार्यक्रम मा नेपाली र हिन्दी साहित्य को तुलनात्मक अध्ययनका विषयमा प्रमुख विद्वान वक्ताहरूले विचार विमर्श गर्नु भएको थियो। कार्यक्रम प्राध्यापक रामदयाल राकेशको प्रमुख आतिथ्यतामा संञ्चालन भएको थियो।

भारतले हिन्दी भाषाको प्रचार, प्रसारका लागि २००६ देखि विश्व हिन्दी दिवस मनाउन सुरु गरेको हो ।

हिन्दी भाषा विश्वका विभिन्न ३० वटा देशका कलेज तथा स्कूलमा अध्यापन हुँदै आएको छ । फिजीमा हिन्दी भाषालाई आधिकारिक भाषा मानिएको छ । हिन्दी भाषा मोरीसस, फिलिपिन्स, गुयाना, सुरिनाम, त्रिनिदाद, पाकिस्तानलगायतको देशमा पनि बोल्ने गरिन्छ । नेपालमा पनि हिन्दीलाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्छ भनि मधेशवादी दलहरुले माग गर्दै आएका छन् ।

नेपालमा हिन्दी भाषा बोल्ने र बुझ्ने धेरै छन् तर राष्ट्रिय जनगणना २०६८ का अनुसार यहाँ ७७ हजार ५६९ जनाले हिन्दी बोल्छन् । यहाँ हिन्दी साहित्यको विकासका लागि विभिन्न संस्थाहरु पनि खोलिएका छन् भने विभिन्न पत्रपत्रिका तथा अनलाइनहरु पनि सञ्चालनमा छन् । नेपालमा हिन्दी भाषाका विभिन्न पुस्तकहरु पनि प्रकाशित भएका छन् ।