४ आश्विन २०८१, शुक्रबार 1726814458
Banner

पहिरोमा परेर घाइते भएकी महिलाको निधन

ताप्लेजुङ, २९ भदौ : ताप्लेजुङमा पहिरोसँगै झरेको ढुङ्गाले लागेर गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा फक्ताङ्लुङ गाउँपालिका–३ तावाकी २६ वर्षीया निर्मला गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रहरीका अनुसार सदरमुकाम फुङ्लिङबाट घर फर्कने क्रममा आज दिउँसो करिब साढे २ बजे रोकेर राखेको मे१ज १३६२ नंको पिकअप भित्र रहनुभएकी निर्मलालाई माथिबाट पहिरोसँगै आएको ढुङ्गाले लागेपछि गम्भीर घाइते हुनुभएको थियो । घाइते निर्मलालाई प्राथमिक उपचारपश्चात थप उपचारका लागि साँझ जिल्ला अस्पताल ताप्लेजुङ ल्याउन साथ चिकित्सकले मृत घोषणा गरेको ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।

तमोर करिडोरअन्तर्गत फक्ताङ्लुङ गाउँपालिका–३ खेसेवामा पहिरोले सडक सामान्य अवरुद्ध गरेपछि पन्छाउन चालकसहित यात्रुहरू बाहिर निस्किएका थिए । निर्मला गाडीभित्रै रहेको समयमा अचानक पहिरोसँगै माथिबाट झरेको ढुङ्गा उनको टाउकोमा लागेको थियो । गाडीमा सवार अन्य यात्रुहरू भने सकुशल रहेको प्रहरीले जनाएको छ ।