३ आश्विन २०८१, बिहिबार 1726726650
Banner

विश्व प्रख्यात, थकाली खाना पस्किने निर्मला

निर्मला वली ( सञ्चालक, मोनालिसा थकाली एण्ड क्याफे टंगाल)

निर्मला वली युवा व्यावसायी हुन् । मुस्ताङ टुकुचे गाउँकी उषा शेरचनले ४४ बर्ष अघि शुरु गरेको थकाली खानाको विरासत धान्दै उनैकी बुहारी रहेकी यिनै निर्मलाले विगत ३ बर्षयता त्यही टिपिकल स्वाद काठमाण्डौंको टंगालस्थित मोनालिसा थकाली एण्ड क्याफे मार्फत पस्किइरहेकी छिन । सबैतिर अहिले थकाली खाना निक्कै रुचाइएको छ । स्वदेशमा मात्रै नभइ विदेशमा पनि नेपालको मौलिक थकाली खानाले व्यापक चर्चा बटुसिसकेको छ । यो खाना हाम्रो संस्कृतिका रुपमा विश्वभर प्रसिद्धी कमाइरहेको छ । विदेशीहरु पनि यो स्वस्थ, स्वादिष्ठ र पोषणले भरिपुर्ण खानाका पारखी बनेका छन् ।

थकाली खाना यति धेरै रुचाउनुको कारण के होला ?
थकाली खाना स्वादका हिसाबले अतुलनीय, स्वास्थ्यका हिसाबले निक्कै हाइजिन र सबैखाले पोषणले भरिपुर्ण छ । थकाली खानालाई कृत्रिम रंग प्रयोग नगरी, सागको हरियो, तरकारीको पहेंलो, भातको सेता लगायतका प्राकृतिक रंगहरुले सजाइन्छ । देख्दै खाउँ–खाउँ लाग्ने थकाली खानामा दालभात मात्रै नभएर अन्य पोषिला बिविध परिकार छन । स्वस्थ्यवद्र्धक र स्वादिष्ठ दुवै भएका कारण यो यत्ति धेरै रुचाइएको हो भन्ने लाग्छ ।
थकाली खानामा के–के समावेश हुन्छ ?
नेपालमै पहिलो थकाली खाना पस्किनुभएकी मेरी सासु अहिले पनि भन्नुहुन्छ, ‘पहिला भात फरर्र पारेर पस्किन्थ्यौं, अहिले बटुकामा हालेर सेप निकाली सर्भ गर्ने चलन आयो । गुन्द्रुक, पापड, करेला, सलाद थकाली खानामा राखिँदैनथ्यो, अहिले राख्ने गरेको देखिन्छ । मौलिक थकाली खानामा मासुको पातलो झोलसँग भात पस्किइन्थ्यो । अहिले मासुको ग्रेभी बनाइन्छ । कन्चम्पा, लेपकु, तुङ, कातुङ, टिम्मुर आलुको तरकारी, सुकुटी आलु प्ला, मुस्ताङ आलु, रायोसाग ठेट थकाली खाना हुन् ।’
तपाइद्धारा सञ्चालित टंगालको मोनालिसाको विशेषता के हो ?
मौलिक थकाली स्वादयुक्त खाना नै हाम्रो मुल विशेषता हो । हामी आलु, फापरको पिठो, कालो सिमीको दाल लगायतका सामग्री मुस्ताङबाटै ल्याउ“छौं । मुस्ताङको आलु हामी शुद्ध घिउमै पकाउ“छौं । त्यसबाहेक कन्टिनेन्टल, चाइनिज परिकार पनि एकैछानामुनी उपलब्ध गराउन सफल भएका छौं । ग्राहकको स्वाद र स्वास्थ्यमा बढी चिन्तित छौं । गुणस्तरको तुलनामा हाम्रा परिकार सुलभ मूल्यमा उपलब्ध छन् ।
तपाई जस्तो युवा उद्यमी, सदियौं देखी एउटै ढर्रामा चलिरहेको थकाली खानामा केही नयाँ फ्युजन गरौं जस्तो लाग्दैन ?
थकाली खाना हाम्रो स्वाद र संस्कृति बनिसकेको छ । विश्वव्यापीरुपमा नेपाल चिनाउन यसले ठुलो भुमिका खेलेको छ । हाम्रा संस्कृति हाम्रो पँजी र चिनारी हुन् । कतिपय यस्ता कुरालाई परिवर्तन नगरेकै राम्रो हुन्छ भन्ने मेरो धारणा छ । अर्कोकुरा, केही नयाँपन दिउँभनेरै थकाली भान्सामा अन्य परिकार पनि पस्किन थालेका हौं । पोखराको मोनासिलसामा विशुद्ध थकाली खाना मात्रै पाइन्छ भने काठमाडौंको मोनालिसामा त्यसबाहेक अरु भेराइटी पनि एकै छनामुनि उपलब्ध छन् ।
नेपालमा महिला उद्यमीका लागि के कस्ता चुनौती छन ?
नेपालमा काम गर्न भनेजस्तो सहज छैन । सरकारले स्वदेशमै केही गर्न चाहाने महिला युवा उद्यमीलाई सहुलिय र सुविधा दिनुपर्छ । किनभने हामीले धेरैलाई रोजगार दिने मात्रै नभइ, यही उत्पादन भएका सामाग्रीको बजरीकरण गर्नमा पनि सहयोग गरिरहेका छौं । हामीले उत्पादन खरिद गरिदएपछि किसानहरुलाइ पनि सजिलो हुने भयो ।