८ आश्विन २०८१, मंगलबार 1727190360
समाज

आयोजना प्रभावितलाई मौरीपालन र वित्तीय साक्षरता तालिम

दमौली (तनहुँ) : तनहुँ जलविद्युत् आयोजनाले आयोजना ऋषिङ गाउँपालिका–८ पल्ट्याङ्मा प्रभावितलाई मौरीपालन र वित्तीय साक्षरतासम्बन्धी तालिम दिएको छ । आयोजना प्रभावितहरुको जीविकोपार्जन पुनःस्थापना तथा आयआर्जन वृद्धिका लागि सञ्चालित तालिममा आयोजनाको डुबान क्षेत्र भिमाद नगरपालिका–५ का १६ जनाको सहभागिता थियो । यही असोज ३ गतेदेखि ऋषिङ गाउँपालिका–८ को वडा कार्यालयमा तीनदिने तालिम सञ्चालन गरिएको थियो । ऋषिङ गाउँपालिका–८ का वडाध्यक्ष भरतकुमार श्रेष्ठले आयोजना प्रभावितहरुलाई लक्षित गरी सञ्चालन गरिएको तालिमले प्रभावितहरुको आयआर्जन वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । तालिमबाट सिकेको सीपलाई व्यावहारिक रुपमा प्रयोग गरी पल्ट्याङलाई मौरीपालनको पकेट क्षेत्रका रुपमा विकास गर्न उहाँले आग्रह गर्नुभयो । तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक किरणकुमार श्रेष्ठले तालिमबाट प्राप्त सीप र ज्ञानलाई कार्यान्वयन गरी उद्यमशीलताको विकास गर्न आग्रह गर्नुभयो ।

उहाँले आयोजना प्रभावितहरुको आयआर्जन वृद्धि गरी जीवनस्तरमा सुधार ल्याउन आगामी दिनमा पनि आवश्यकताबमोजिम सीपमूलक तालिम सञ्चालन गरिने बताउनुभयो । आयोजना प्रमुख श्यामजी भण्डारीले आयोजना प्रभावित क्षेत्रमा सामुदायिक विकासका विभिन्न योजना कार्यान्वयन भइरहेको उल्लेख गर्नुभयो । तालिममा सहभागी गीता थापाले व्यावसायिक रुपमा मौरीपालन गरिहेका प्रशिक्षकबाट तालिम दिइएकाले व्यावहारिक ज्ञान र सीप हासिल गरेको बताउनुभयो । उहाँले तालिमपछि व्यावसायिक मौरीपालन गर्न आत्मविश्वास बढेको बताउनुभयो । आयोजकले सहभागीहरुलाई मौरीसहितका घार र आवश्यक उपकरणहरु निःशुल्क रुपमा उपलब्ध गराएको छ । आयोजनाले प्रभावितहरुलाई लक्षित गरी प्लम्बिङ, इलेक्ट्रेसियन, सिलाइबुनाइ, वित्तीय साक्षरता, बाख्रापालन, तरकारी खेतीलगायत १४ वटा तालिम सञ्चालन गरिसकेको छ । उक्त तालिममार्फत १३९ पुरुष र १५५ महिला गरी २९४ जना लाभान्वित भइसकेको आयोजनाले जनाएको छ ।