काठमाडौँ – काठमाडौँ उपत्यकामा आज वर्षकै सर्वाधिक वर्षा भएको छ । यहाँ आज बिहान वर्षा मापन सुरु भएयताकै बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले आज बिहान ८ः४५ बजे त्रिभुवन विमानस्थल वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा २३९।७ मिलिमिटर वर्षा मापन भएको जानकारी दिनुभयो । यो मापन सुरु भएयताकै सर्वाधिक वर्षा भएको उहाँले बताउनुभयो । यसअघि सन् २००२ मा यहाँ १७७ मिलिमिटर वर्षा रेकर्ड भएको थियो ।
मौसमविद् लामिछानेले काठमाडौँ उपत्यकामा यति ठूलो वर्षा अहिलेसम्म मापन नभएको प्रारम्भिक अध्ययनले देखाएको र विस्तृत अध्ययन गरी केही दिनमा विस्तृत अवस्था प्रतिवेदन सार्वजनिक गरिने पनि राससलाई जानकारी दिनुभयो ।
उपत्यकाका अन्य नौ मापन केन्द्रमा पनि धेरै वर्षा मापन भएको छ । ललितपुरको चापागाउँमा सन् २००२ मा २४ घण्टामा २००।५ मिलिमिटर वर्षा भएकामा आज शनिबार ३२३ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।
आज साँझ भने जिरीमा ११२४., जनकपुरमा १००, लुम्लेमा ११३,३, धरानमा १७७।६, धनकुटामा १७३, ओखलढुङ्गामा ११०१ .काठमाडौँमा १९४, सिमरा १२० र भैरहवामा १९४.२ मिलिमिटर वर्षा भएको छ ।
भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा आज साँझसम्म देशभरमा ६६ जनाको मृत्यु भएको छभने ७९ जना बेपत्ता भएका छन् । काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छभने २१ जना बेपत्ता छन् । आज साँझबाट भने मौसममा केही सुधार आएको छ ।