२७ बैशाख २०८३, आइतबार 1778398737
Banner

काठमाडौं महानगरपालिकाको प्रमुखमा १६ र उपप्रमुखमा १७ जनाको उम्मेदवारी

काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पहिलो दिन काठमाडौं महानगरपालिकाको प्रमुखमा १६ जनाले उम्मेदवारी दिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा उपप्रमुखमा १७ जनाको उम्मेदवारी परेको छ।

त्यस्तै १३ वडाध्यक्ष र सात वडा सदस्यले समेत उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिए। प्रमुखमा स्वतन्त्रतर्फ नौ जनाले उम्मेदवारी दर्ता गराएका छन्। विभिन्न राजनीतिक दलकातर्फबाट सात जनाको उम्मेदवारी परेको छ। प्रमुखमा १२ पुरुष र चार महिलाले उम्मेदवारी दिएका छन्।

ठूला राजनीतिक दलका प्रतिनिधिले मनोनयन दर्ता गराएका छैनन्। निर्वाचन आयोगले सोमबार अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनय गर्न सक्ने व्यवस्था गरेको छ। ठूला दलका प्रतिनिधिले सोमबारमात्र उम्मेदवारी दिने बताइएको छ।

कामपाको प्रमुखमा राष्ट्रिय यथार्थवादी पार्टीका तर्फबाट आनन्दराज जोशी, विवेकशील साझा पार्टीबाट समीक्षा बास्कोटा, आधुनिक नेपाल समाजवादी पार्टीबाट सुरेशरत्न बज्राचार्य, नेपाल समावेशी पार्टीबाट रामबहादुर खड्का, मङ्गोल नेशनल अर्गनाइजेसनबाट सीता तामाङ, मौलिक जिरोकिलो पार्टीबाट मनोजराज आचार्य र सचेत नेपाल पार्टीबाट डिल्लीराज राजभण्डारीले उम्मेदवारी दिएका छन्।

त्यस्तै स्वतन्त्ररुपमा राजन कार्की, रवीकान्त मानन्धर, बालेन्द्र शाह, ज्ञानमाला तामाङ, सुमन सायमी, अमोट महर्जन, विपिनराज वैद्य, सूर्य थापा (श्रेष्ठ) र जेठा महर्जनको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। रासस