१५ श्रावण २०८३, शुक्रबार 1785546030
Banner

बेपत्ता भएको १० दिनसम्म पनि शव फेला नपरे सरकारले मृतक सरह नै राहत दिने

काठमाडौँ : विपद् व्यवस्थापन कार्यकारिणी समितिले मनसुनजन्य विपद्बाट बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सा निर्णय गरेको हो। बैठकले बेपत्ता भएको १० दिनसम्म पनि फेला नपरे मृतकसरह नै राहत रकम परिवारलाई उपलब्ध गराउने निर्णय भएको सहसचिव एवं गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए। उनले समितिले खोज, उद्धार र राहत कार्यलाई तिब्रता दिने निर्णय गरेको बताए।

समितिले मनसुनजन्य विपद्का कारण मृत्यु भएका सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफन्तजनप्रति समवेदना र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ। विगत तीन दिनदेखिको भारी वर्षातका कारण विपद् प्रभावित क्षेत्रमा खोज उद्धारका बाँकी कार्यलाई निरन्तरता दिँदै मौसमजन्य विपद् प्रभावितहरुका लागि राहत वितरणको प्रक्रिया एकद्वारा प्रणालीबाट तत्काल शुरु गर्ने निर्णय पनि गरेको छ।