८ कार्तिक २०८१, बिहिबार 1729792988
अर्थ

सेयर बजार २६२७ अंकमा झर्‍यो

काठमाडौं । सेयर बजारको गिरावटले निरन्तरता पाएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक नेप्से १८.२५ अंक घटेर २६२७ मा कायम भएको छ । बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब २७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४१ करोडमा खुम्चियो । यस दिन ६७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने ७ को स्थिर रह्यो । आज पनि बैंकिङ समूहले नै बजार झार्नलाई बल पुग्यो । नेप्से परिसूचक ०.६८ प्रतिशत मात्रै झर्दा बैंकिङ समूह भने १.०२ प्रतिशत घट्यो ।

त्यस्तै विकास बैंक ०.७९, फाइनान्स ०.८८, होटल तथा पर्यटन ०.८७, लगानी ०.९२, जीवन बीमा ०.५२, उत्पादन १.२६, माइक्रोफाइनान्स ०.८१, निर्जीवन बीमा ०.६०, अन्य ०.६५ र व्यापार समूह १.९३ प्रतिशत घटे । हाइड्रोपावर समूह भने ०.३६ प्रतिशत हरियो रह्यो । बैंकिङ सेक्टर उच्च दरमा घटे पनि एसबीआई बैंकको मूल्य सबैभन्दा धेरै बढ्यो । सो बैंकको मूल्य ९.७५ प्रतिशत बढ्यो । त्यस्तै पिपुल्स पावरको ८.०५, समृद्धि फाइनान्सको ६.१८, माथिल्लो मैलुङखोलाको ५.७८, साहस ऊर्जाको ५.१७, सुपर मादी हाइड्रोपावरको ५.१० तथा मिथिला लघुवित्तको ४.६६ प्रतिशत मूल्य बढ्यो । रावा इनर्जीको मूल्य १० प्रतिशत घट्यो । कर्पोरेट डेभलपमेन्टको ४.९०, गुडविल फाइनान्सको ४.५१ तथा सुपर माइ हाइड्रोपावरको ४.२१ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स, साहस ऊर्जा, आईसीएफसी फाइनान्स, पिपुल्स हाइड्रोपावर र समृद्धि फाइनान्स क्रमशः अगाडि रहे ।