१० कार्तिक २०८१, शनिबार 1729951586
समाचार

भारतीय सहयोगमा निर्मित गल्या नगर अस्पतालको उद्घाटन

स्याङ्जा- ‘नेपाल-भारत विकास सहकार्य’बाट स्याङ्जाको गल्या नगरपालिकामा निर्मित गल्या नगर अस्पतालको उद्घाटन भएको छ । भारत सरकारको  ४ करोड १३ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको अस्पतालको उद्घाटन शुक्रवार नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति, स्याङ्जाका प्रमुख श्रीप्रसाद जीटी र गल्या नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले संयुक्त रूपमा गर्नु भएको हो ।

भारत सरकार र नेपाल सरकारबिच भएको सम्झौताअन्तर्गत यो परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’को रूपमा अघि बढाइएको थियो । जिल्ला समन्वय समिति, स्याङ्जामार्फत यो परियोजनाको कार्यान्वयन गरिएको थियो ।

गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्यसम्बन्धी विभिन्न समस्या समाधान गर्ने उद्देश्यले नेपाल सरकारको स्वीकृतिमा स्थानीय जनताले एउटा सानो भाडाको घरमा सन् २०१० मा गल्या सामुदायिक अस्पतालको स्थापना गरेका थिए ।

गल्याङ नगरपालिकाको आर्थिक सहयोग रहेको उक्त अस्पतालको नाम परिवर्तन गरी अहिले गल्या नगर अस्पताल राखिएको छ । अस्पतालले स्याङ्जा, पाल्पा, पर्वत र गुल्मी जिल्लाका बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।