काठमाडौं । मंगलबार पनि सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ४६.६९ अंक बढेको छ । सो अंकको वृद्धिसँगै २६९२ मा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब ३३ करोडको कारोबार भएकोमा मंगलबार ६ अर्ब १२ करोडको भयो । यस दिन बजार खुलेदेखि दिनभर हरियाली रह्यो । बजार बन्द हुँदाको अंक नै दिनभरको उच्चतम अंक हो । कुल २२१ कम्पनीको मूल्य बढ्दा १७ को घट्यो भने ५ को स्थिर रह्यो । सबै समूहका सूचक बढेका छन् । निर्जीवन बीमा समूह सबैभन्दा धेरै ३.६ प्रतिशत बढ्यो ।
बैंकिङ १.६०, विकास बैंक २.३२, फाइनान्स ०.३८, होटल तथा पर्यटन २.७७, हाइड्रोपावर २.०३, लगानी १.३६, जीवन बीमा १.८०, उत्पादन ०.९७, माइक्रोफाइनान्स १.५, अन्य १.५७ तथा व्यापार समूह ०.३५ प्रतिशत बढे । चार कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । सप्तकोशी विकास बैंक, सानिमा जीआईसी इन्स्योरेन्स, कुथेली बुकरी स्मल हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत बढ्यो । समाज लघुवित्तको ९.१८, माउन्टेन इनर्जीको ७.३४, खानीखोला हाइड्रोको ६.७, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ६.५ प्रतिशत मूल्य बढ्यो । कारोबार रकमका आधारमा समृद्धि फाइनान्स, पिपुल्स हाइड्रोपावर, सप्तकोशी विकास बैंक, जानाकी फाइनान्स र साहस ऊर्जा क्रमशः अगाडि रहे ।