८ मंसिर २०८१, शनिबार 1732410380
Banner

रास्वपा उपसभापति अर्यालले आरजुका पिएलाई पठाएको म्यासेज भाइरल

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल(डिपी)ले परराष्ट्र मन्त्री डा.आरजु राणा देउवासँग भेटका लागि आग्रह गरेको खुलेको छ । सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका पार्टी सभापति रवि लामिछानेलाई हिरासतमुक्त गराउन उपसभापति अर्याल यति बेला सरकारसँग लबिङमा छन् । यसअघि सोमबार उनले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई भेटेका थिए । यसैबीचमा अर्यालले मंगलबार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी परराष्ट्र मन्त्री राणालाई भेट्न चाहेको खुलेको हो ।

अर्यालले मन्त्री राणाका स्वकीय सचिव कमल रावललाई मोबाइलमा म्यासेज गरेर भेटका समय मिलाइदिन अनुरोध गरेको तस्बिर बाहिरिएको छ । तस्बिरमा रास्वपा उपसभापति अर्यालकै मोबाइलको स्क्रिन देखिएको छ । जसमा अर्यालले मन्त्री राणाका स्वकीय सचिवलाई म्यासेज लेखिरहेका देखिन्छन् । अर्यालको मुहार भने देखिदैन्  स्क्रिनको म्यासेज बक्समा अङ्ग्रेजी अक्षरमा ‘कमल जी म डिपी अर्याल । एक पटक मन्त्रीज्यूसँग सर्ट मिटिङको टाइम मिलाउनु न’ लेखेर पठाइसकेको देखिन्छ । उक्त तस्बिर अर्यालसँगै रहेको कसैले लिएर सामाजिक सञ्जालमा भाइरल बनाएको हुनसक्ने देखिएको छ । अहिले उक्त म्यासेज सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ ।

उक्त म्यासेज उपसभापति अर्यालकै हो वा होइन भनेर पुष्टि गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन् । तर, मन्त्री राणाको सचिवालयले भने रास्वपा उपसभापति अर्यालबाट मन्त्री राणासँग भेटको समयका लागि अनुरोध आएको पुष्टि गरेको छ ।‘मन्त्रीज्यूसँग मिटिङका लागि अनुरोध आएको साँचो हो,’ मन्त्री राणाको सचिवालयले भन्यो,‘आज(मंगलबार) पूर्व निर्धारित कार्यक्रम तय भइसकेकाले भेटको समय सम्भव भएन् ।’ प्रतिनिधिसभाको चौथो ठुलो दलको एक शीर्ष नेताले मन्त्रीसँग भेट्न चाहँदा मन्त्रीले भेट दिने सचिवालयले बतायो । ‘कुन कामले भेट्न चाहनुभएको हो, त्यो त भेटेपछि थाहा होला । प्रतिनिधिसभाको माननीय, पूर्व मन्त्री रहेको व्यक्तिले भेट्न चाहँदा नभेट्ने भन्ने हुन्न । आज समय नमिलेर मात्रै हो,’ सचिवालयले भन्यो । स्रोतका अनुसार उपसभापति अर्यालले दिउँसो उक्त म्यासेज पठाएका हुन् ।