२१ कार्तिक २०८१, बुधबार 1730905148
राजनीति

प्रदेश मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिँदै

विराटनगर । अनुमति नलिई जापान गएको विषय सार्वजनिक भएपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन् । उनी गत कार्तिक १३ गते कूटनीतिक मर्यादा उल्लङ्घन गर्दै जापान गएका थिए । उनले आफू जापान जाँदा मुख्यमन्त्रीलाई जानकारी समेत दिएका थिएनन् । मन्त्री अधिकारीले आफूले राजीनामा दिन लागेको पुष्टि गरे ।  आफ्नो राजीनामाको विषयमा उनले पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी गरेका छन् ।

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ । तर मन्त्री अधिकारी मन्त्रीपरिषद्को निर्णय विपरीत जापान पुगेका थिए । मन्त्री अधिकारी मोरङ क्षेत्र नम्बर २ (२) बाट निर्वाचित एमालेका सांसद हुन् । मन्त्री अधिकारी कूटनीतिक मर्यादा विपरीत जापान गएको विषयमा समाचार प्रकाशित भएको थियो ।