२८ कार्तिक २०८१, बुधबार 1731491126
Banner

पूर्वमन्त्री अधिकारीमाथि मानव तस्करीको आरोपमा अनुसन्धान सुरू

काठमाडौं । जापानको विमानस्थलस्थित अध्यागमन कार्यालयले चार नेपाली नागरिकलाई डिपोर्ट गरिदिएको प्रकरणमा प्रहरीले बल्ल मानव तस्करीको कसूरमा अनुसन्धान थालेको छ । पहिले यो प्रकरणमा सरकारी लिखत कीर्तेको कसुरमा मात्र अनुसन्धान भइरहेको थियो । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीलाई पक्राउ गरेसँगै प्रहरीले यो मामलाको अनुसन्धानलाई मानव तस्करीको कसुरतर्फ लगेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार, पूर्वमन्त्री अधिकारीलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ विपरितको कसुर र लिखत कीर्तेमा अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको छ । ‘यो प्रकरणमा पहिल्यै ६ जना पक्राउ परिसकेको स्थिति भएकाले अरु अभियुक्तसँगै म्याद मिलान हुने गरी अदालतबाट २ दिन हिरासतमा राख्न अनुमति प्राप्त भएको छ’, अधिकारीले भने ।

काठमाडौं प्रहरीका अनुसार, अधिकारीमाथि मानवबेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को दफा ४ को उपदफा (२) अनुसारको अभियोग लगाइएको छ । यसमा ‘प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कुनै गैरकानूनी लाभ वा अन्य फाइदा लिने उद्देश्यले बदनियतपूर्वक कुनै नेपाली नागरिक, विदेशी वा आप्रवासीलाई नक्कली वा झुठ्ठा कागजात बनाई वा झुक्याई विदेश लैजाने वा त्यस्तो व्यक्तिको आफ्नो मुलुक वा निज रहेको स्थानबाहेक अन्य मुलुकमा गैरकानूनी रुपमा प्रवेश गराउने मानव तस्करी सम्बन्धी कार्य गरे वा गराए’ कसुर हुने भनिएको छ । प्रहरी अधिकृतहरुका अनुसार, पहिले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ मा मानव तस्करी सम्बन्धमा स्पष्ट व्यवस्था थिएन । तर, यो ऐनलाई संशोधन गरेर २०८० चैतमा राजपत्रमा प्रकाशित भएसँगै प्रहरीले मानव तस्करीको कसुरमा पनि मुद्दा अघि बढाउने बाटो खुलेको थियो । यो प्रकरणमा प्रहरीले रसुवाका २२ वर्षीय कञ्चन देवकोटा, खोटाङका ३६ वर्षीय दावा शेर्पा, जनक राई, नुवाकोटका २२ वर्षीय जुगल रिजाल, दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाका ३४ वर्षीय महेश पाण्डेलाई पक्राउ गरेर सरकारी लिखत कीर्तेको कसुरमा अनुसन्धान गरिरहेको थियो ।

मानव तस्करीमा अनुसन्धान अघि बढ्दा निवर्तमान मन्त्री अधिकारी अनुसन्धानको दायरामा परेका थिएनन् । तर, काठमाडौं प्रहरीले पक्राउ परेका तीन जनाको बयानपछि यो मामलालाई मानव तस्करीको कसुरका रुपमा लैजाने निर्णयसहित अधिकारीलाई पक्राउ गर्न अनुमति लिएको थियो । त्यसअनुसार उनलाई मोरङस्थित निवासबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । अनुुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, कोशी प्रदेशका निवर्तमान मन्त्री अधिकारी ‘आर्ट काउन्सिल टोकियो’ले आयोजना गरेको ‘कल्चर एट होम’ कार्यक्रममा सहभागी हुने भन्दै १३ कात्तिकमा जापानका लागि उडेका थिए । तर, त्यहाँको अध्यागमन कार्यालयलाई शंका लागेपछि उनीहरु डिपोर्ट भएका थिए । फर्किएपछि नेपालको अध्यागमन विभागले अधिकारीसँगै गएका तीन जनालाई नियन्त्रणमा लिएको थियो भने पूर्वमन्त्रीलाई छाडिदिएको थियो । त्यसपछि यो मामलामा प्रहरीले जाँच थालेको थियो । अनुसन्धान सुरु भएपछि अधिकारीले बुधबार मन्त्री पदबाट राजीनामा दिएका थिए । पछि उनलाई पार्टीको प्रदेश कमिटीले संगठित सदस्यबाट समेत निलम्बन गरेको थियो ।