६ मंसिर २०८१, बिहिबार 1732194539
पालिका

सूर्यविनायक नगर कमिटीको दोस्रो अधिवेशन मंसिर १ गते हुने

भक्तपुर । नेकपा एमाले सूर्यविनायक नगर कमिटीको दोस्रो अधिवेशन मंसिर १ गते हुने भएको छ ।

अधिवेशन सूर्यविनायक नगरपालिका वडा नं ९ नङ्खेलस्थित सेराटन पार्टी प्यालेसमा हुने सूर्यविनायक नगर कमिटीका अध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिए । अधिवेशन एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा हुने उनले बताए । उक्त कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज महेश बस्नेतको पनि उपस्थिति रहने उनले जानकारी दिए ।

पत्रकार सम्मेलनकै क्रममा एमाले नेता महेश बस्नेतले नेकपा एमालेलाई ‘आउटडेटेड’ हुन नदिइ ‘अपडेटड’ राख्न अधिवेशनको आवश्यकता पर्ने बताए । हाल देशका विभिन्न तहमा अधिवेशन भइरहेको र सदस्यता नविकरणको कार्यलाई पनि सँगसँगै लगिएको उनले जानकारी दिए । साथै, नयाँ सदस्यता विस्तार र अरु पार्टीबाट एमालेमा प्रवेश गराउने कार्यहरु पनि तीब्र रुपमा अगाडि बढिरहेको उनले जानकारी दिए ।

नेकपा एमाले हाल साइबर र एआईको युगमा पनि आफूलाई अपडेट गरिरहन सफल भएको र आगामी दिनहरुमा पनि समय अनुसार अवश्यक पर्ने कदमहरु अवलम्बन गर्दै अघि बढ्ने बस्नेतले बताए ।

कोशी प्रदेशमा मन्त्री बनेका लिलाबल्लभ अधिकारी पक्राउ पर्दा एमाले चुप लागेको र गण्डकी प्रदेश सभा सदस्य दिपक मनाङे पक्राउ पर्दा उनका समर्थकहरु चुप लाग्दा रास्वपाका कार्यकर्ता भने विना कारण सडकमा उत्रिएका कारण उनीहरुको स्तर ‘गुण्डाको समर्थक’ भन्दा तल पुगेको उनले बताए ।

कार्यक्रममा एमाले भक्तपुरका जिल्ला अध्यक्ष बचन देउजाले नगर अधिवेशन धमाधम सम्पन्न हुँदै गएको बताउनुभयो । अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने आफुहरुको प्रयास हुने उहाँको भनाइ थियो ।

अधिवेशनको बन्द सत्रमा प्रतिनिधिका रुपमा वडाबाट २५ जना पार्टी सदस्य बराबर एक जना, उत्पीडित दलिततर्फ दश जना बराबर एक जना प्रतिनिधि चयन भईसकेका छन् । दश वटा वडाबाट गरि कुल १४५ जना प्रतिनिधिहरु चयन भएका छन् । आयोजकमा ७१ जना प्रतिनिधि रहेका छन् । ११ वटा जनवर्गिय संगठनबाट एक एक जना गरी ११ जना प्रतिनिधिसहित जम्मा २२७ जना प्रतिनिधिको विधान बमोजिम ५ प्रतिशत मनोनित गर्दा ११ जना गरी कुल २३८ जना प्रतिनिधि बन्द सत्रमा सहभागि हुनेछन । कुल प्रतिनिधिको ३३ प्रतिशत महिला अनिवार्य व्यवस्था गरिएको कमिटिले जनाएको छ ।

उदघाटन समारोहमा करिब ५ हजार जना सहभागि हुने अनुमान गरिएको छ ।