६ मंसिर २०८१, बिहिबार 1732215757
अर्थ

कर्मचारी महासङ्घद्वारा बाढीपहिरो पीडितका लागि पौने आठ लाख सहयोग

काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी महासङ्घले बाढीपहिरो पीडितका लागि पौने आठ लाखभन्दा बढी सहयोग हस्तान्तरण गरेको छ । महासङ्घले आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सात लाख सतहत्तर हजार सात सय सतहत्तर रुपैयाँको चेक हस्तान्तरण गरेको हो । महासङ्घका अध्यक्ष मणिरत्न श्रेष्ठ, महासचिव प्रेम खनाल, नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठनका अध्यक्ष अम्बादत्त भट्टलगायत महासङ्घ र सङ्गठनका पदाधिकारीहरूले चेक हस्तान्तरण गर्नुभएको थियो । यो सहयोग सङ्कलनमा नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठनको महत्त्वपूर्ण भूमिका रहेको महासङ्घले जानकारी गराएको थियो ।

सहयोग ग्रहण गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रसेवकसँगै जनताले भोग्नुपरेको विपत्तिमा कर्मचारीहरूले सहयोग सङ्कलन गरेकोमा धन्यवाद दिनुभयो । प्राकृतिक विपत्तिले सिर्जना गरेको सङ्कट समाधानका लागि सरकारमा हुँदा पनि नहुँदा पनि आफ्नो पार्टी निरन्तर अग्रमोर्चामा रहेर काम गरेको उल्लेख गर्दै उनले पार्टीनिकट शुभेच्छुक सङ्गठनहरूले पनि यसमा योगदान गर्दा पार्टीलाई थप ऊर्जा प्राप्त हुने बताए । यसपटकको बाढी पहिरोको बेलामा आफ्नो पार्टीले सबैभन्दा पहिले पहलकदमी लिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले प्रभावितस्थलमा निरन्तर खटेर उद्धार, राहत र पुनर्स्थापनामा लाग्ने सबैलाई धन्यवाद पनि दिए। राहत र पुनर्स्थापनाका कामले अझै गति नलिएको उल्लेख गर्दै उनले दुई वर्षअघिका भूकम्पपीडितदेखि अहिलेका बाढीपहिरो पीडित सबैलाई पुरानै अवस्थामा फर्काउन सबै लाग्नुपर्ने र त्यसमा कर्मचारीहरूले आफ्नो कार्यक्षेत्रबाट बढी योगदान गर्नुपर्ने बताए ।