८ मंसिर २०८१, शनिबार 1732374991
अर्थ

१४ अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढेको छ । परिसूचक सामान्य अंकले बढे पनि कारोबार भने १० अर्ब नाघेको छ । बिहीबार २ करोड १६ लाख ६० हजार कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ३२ करोड ३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यो साता समग्रमा सेयर बजार १० प्रतिशतले बढेको छ । आइतबार परिसूचक २७३८ बिन्दुमा थियो । सोमबार २२ अंकले बढ्दै २७६० बिन्दुमा उक्लियो । मंगलबार र बुधबार भने बजारमा गिरावट देखियो । बुधबार बजार बन्द हुँदा परिसूचक २७३४.३८ बिन्दुमा थियो । बिहीबार परिसूचक २७४८.७९ बिन्दुमा पुगेर कारोबार रोकिएको छ ।

बिहीबार १५९ कम्पनीको सेयर मूल्य बढेको छ । ७९ कम्पनीको घट्दा ६ कम्पनीको मूल्य स्थिर रह्यो । बिहीबार गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त, माथिल्लो हेवाखोला जलविद्युत् लगायत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । कारोबार रकमका हिसाबले भने जानकी फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो । बिहीबार यसको ३५ करोड २५ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो । बिहीबार जलविद्युत् उपसमूहको सूचक १.३४ र विकास बैंक उपसमूहको सूचक १.२१ प्रतिशतले बढेको छ । अन्य उपसमूहको वृद्धि भने १ प्रतिशत पनि पुग्न सकेन ।