काठमाडौं । दक्षिण अफ्रिकासँगको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा भारतले जित हासिल गरेको छ । शुक्रबार राति भएको चौथो खेलमा १३५ रनको फराकिलो जित निकाल्दै भारतले श्रृंखला ३-१ ले जितेको हो । भारतले दिएको २८४ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १८.२ ओभरमा १४८ रनमा अल आउट भयो । ट्रिस्टन स्टब्सले सर्वाधिक ४३ रन बनाए भने डेभिड मिलरले ३६ तथा मार्को यान्सेनले अविजित २९ रन बनाए । भारतका लागि अर्शदीप सिंहले ३ ओभरमा २० रन दिएर ३ विकेट लिए भने वरुण चक्रवर्ती र अक्षर पटेलले २-२ विकेट लिँदा हार्दिक पान्ड्या, रमनदीप सिंह र रवि विश्नोईले १-१ विकेट लिए । दक्षिण अफ्रिकाले टी-२० मा व्यहोरेको यो सबैभन्दा ठुलो अन्तरको हार हो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा १ विकेट गुमाएर २८३ रन बनाएको थियो । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई फुल-मेम्बर बीचमा बनेको यो दोस्रो ठुलो स्कोर हो ।
यसअघि गत महिना भारतले नै बंगलादेशसँग २९७ रन बनाएको थियो । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक स्कोर भने जिम्बाबेको नाममा छ, उसले नेपालको नाममा भएको ३१४ रनको रेकर्ड तोड्दै ३४४ रन बनाएको थियो । विशाल योगफल खडा गर्ने क्रममा भारतका लागि तिलक बर्मा र सन्जु सामसनले शतक प्रहार गर्दै अविजित दोहोरो शतकीय साझेदारी समेत गरे । तिलक १२० रनमा नटआउट रहँदा सामसनले अविजित १०९ रन बनाए । ४७ बल खेलेका तिलकले ९ चौका र १० छक्का प्रहार गरे । ५६ बल खेलेका सामसनले ६ चौका र ९ छक्का हिर्काए । दक्षिण अफ्रिकाका लुथो सिपाम्लाले एकमात्र विकेट लिए । सबै बलरहरुले १० भन्दा माथिको इकोनोमीमा रन खर्चिएका थिए । यसअघि पहिलो खेल जितेको भारतले दोस्रो खेलमा पराजित हुँदा तेस्रो खेल जितेको थियो । उक्त खेलमा पनि तिलकले शतक बनाएका थिए ।