३ कार्तिक २०८१, शनिबार 1729402604
विश्व

युक्रेनसँगको वार्ता अघि बढाउन रुस सहमत

युक्रेनसँगको वार्ता अघि बढाउन रुस सहमत भएको छ।

रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले युक्रेनसँग पुनः वार्ता गर्न तयार रहेको प्रतिक्रिया दिएका हुन्। रुस भ्रमणमा पुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसँगको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा लाभ्रोभले युक्रेनसँग फेरि वार्ता अघि बढाउने बारेमा सहमति भएको प्रतिक्रिया दिए।

युक्रेनसँगको द्वन्द्व कूटनीतिक तरिकाबाट नै समाधान गर्नुपर्नेमा आफूहरू सहमत रहेको उनले बताए। उनले आफ्नो तर्फबाट यसअघि पनि वार्ताको पहल भएको, पटकपटक वार्ता पनि भएको तर युक्रेनकै कारणले वार्ता सफल हुन नसकेको दाबी गरे।

आक्रमण भएको एक हप्ता नबित्दै पहिलो चरणको वार्ता भएको थियो। त्यसपछि पनि पटक–पटक वार्ता भए पनि निष्कर्षमा पुग्न सकेका थिएनन्। रुसले युक्रेनमाथि आक्रमण गरेको दुई महिना पूरा भइसक्दा पनि युद्ध अन्त्यका लागि ठोस पहल नदेखिएपछि राष्ट्रसंघका महासचिव रुस पुगेका हुन्। एजेन्सी