७ जेष्ठ २०८३, बिहिबार 1779390730
Banner

कमजोरी सच्याउन एमाले तयार छ : शङ्कर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर स्याल हुँइया मच्चाउने प्रयत्न भइरहेको बताएका छन् ।  नेकपा एमाले नेतृत्वविरुद्ध फैलाएका भ्रमलाई चिर्न तथा सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा शुक्रवार आयोजित जागरणसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले लगानी प्रमाणित गर्न चुनौती दिएका हुन् । उनले अध्यक्ष ओलीको भनाई उधृत गर्दै भने, ‘हाम्रो अध्यक्षले भन्नुभएको छ– लगानी प्रमाणित गरुन् त्यसमा थपेर त्यो लगानी त्यहीँ व्यक्तिलाई प्रदान गर्छु ।’ उनले फेरि त्यही कुरा दोहोर्‍याएर अध्यक्ष ओलीलाई प्रहार भइरहेको बताए ।

उनले कम्बोडियामा आइक्यापको अधिवेशनमा सबै राजनीतिक दलका नेता सहभागी भए पनि एमाले र पार्टीका नेतालाई जोडेर बदनाम गर्ने काम भइरहेकोमा आपत्ति जनाए । ‘सुशासनका सवालमा हाम्रो पार्टी सबैभन्दा सही ठाउँमा छ । भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने कुरा अध्यक्षको मात्र होइन एमालेको भनाइ हो’, पोखरेलले एमालेले गरेका कामहरूको चर्चा गर्दै भने, ‘यो राष्ट्र निर्माणका सन्दर्भमा जनताले दिएका सुझाव एमालेलाई शिरोधार्य गर्छ र कमी कमजोरी सच्याउन तयार छ । ’ उनले विकास र सम्मृद्धिको नेतृत्व गर्ने तथा न्यायका पक्षमा आवाज उठाउने काम एमालेले मात्र गर्ने दाबी गरे ।