१० मंसिर २०८१, सोमबार 1732555698
समाचार

बिउको गुणस्तरीयतामा कृषिमन्त्री अधिकारीको जोड

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमै गुणस्तरीय बीउ उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौँमा आयोजित १५ औँ राष्ट्रिय हर्टिकल्चर सम्मेलनमा अधिकारीले नेपालमा गुणस्तरीय बीउ उत्पादन गर्नुपर्नेमा जोड दिएका हुन् । गुणस्तरीय बीउ उत्पादनसँगै वितरणलाई प्रभावकारी बनाउन सबै निकायहरूको भूमिका महत्त्वपूर्ण हुने उनले बताए । सबै कृषिजन्य बालीहरूको उत्पादनको आधारभूत स्रोत बिउनै भएकाले गुणस्तरीय बीउ उत्पादनलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री अधिकारीले जोड दिए । आलु तथा मसालाबाली क्षेत्रको विकासको लागि सरकारी तथा गैरसरकारी निकायहरूका साथै निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको मन्त्री अधिकारीले उल्लेख गरे ।

नेपालका रैथाने बीउ बिजनको संरक्षण अपरिहार्य रहेकोमा जोड दिँदै मन्त्री अधिकारीले मन्त्रालयबाट हालसालै बीउ विजन नियमावली संशोधन गर्ने कार्य सम्पन्न गरिएको जानकारी दिए । पछिल्लो समय सरकारीस्तरका बीउ उत्पादन गर्ने फार्महरूको जग्गा अतिक्रमण भएको उल्लेख गर्दै मन्त्री अधिकारीले   विदेशी बिउको बढ्दो आयात रोक्न मन्त्रालय निजी क्षेत्रको सहकार्यमा रणनीतिक हिसाबले अगाडि बढेको पनि बताए । दुई दिनसम्म चल्ने सम्मेलनमा सम्बन्धित सरकारी संस्थाहरू, विज्ञ, तरकारी बिउ उत्पादकहरू र कृषकहरूको सहभागिता छ । सम्मेलनमा आलु, मसलावाली तथा तरकारीको बीउ उत्पादन, जातीय विकास, बजारीकरण, मूल्य श्रृङ्खला, जलवायु परिवर्तन, जैविक विविधता, बीउ सम्बन्धी कानुनहरूका बारेमा छलफल हुने बताइएको छ ।