वीरगन्ज । पर्सा प्रहरीले वीरगन्जबाट १३ लाख रुपैयाँ भन्दा बढी मूल्य बराबरको सुनसहित एक जनालाई पक्राउ गरेको छ । महानगरपालिकाको वडा नम्बर–८ लिंकरोडस्थित सडक खण्डबाट एक सय ग्राम भन्दा बढी सुनसहित २८ वर्षका जयप्रकाश कुमार सोनारलाई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए । उनका अनुसार अवैध रूपमा सुन ओसारपसार भइरहेको प्रहरीलाई विशेष सूचनाको आएको थियो ।
सोही आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले शङ्कास्पद रूपमा आउँदै गरेको ना ६२ प २७०५ नम्बरको मोटरसाइकलमा सवार सोनारलाई जाँच गर्दा सो सुन बरामद भएको हो । प्रहरीका अनुसार बरामद भएको उक्त सुनको बजार मूल्य १३ लाख ८८ हजार ४३६ रुपैयाँ रहेको छ । सोनारलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।