४ आश्विन २०८१, शुक्रबार 1726827088
Banner

गठबन्धन लुतो जस्तै हो, बैशाख ३० गते फालिन्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई लूतोको संज्ञा दिनुभएको छ । काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँचदलीय गठबन्धन ठूलो घाउ नभएपनि केहीसमय चिलाएर दुःख दिने लुतो भएको बताउनुभयो ।

उहाँले बैशाख ३० गते जनताले लुतो फाल्ने बताउनुभयो । ‘ पाँचदलीय गठबन्धन लुतो हो । ठूलै घाउ पनि होइन तर चिलाको चिलाई गर्छ । यो केही समयका निम्ति पीडा हो । यो पीडाको अन्त्य बैशाख ३० मा गर्नुपर्छ । त्यसलाई लुतो फाल्ने दिन बनाउनुपर्छ जनताले’ ओलीले भन्नुभयो ।काठमाडौंमा एमालेको जित सुनिश्चित रहेको भन्दै ओलीले गठबन्धनका कारण जनतामा त्रास बढेको बताउनुभयो । ‘गठबन्धनको पक्षमा छु नभनेसम्म बाँच्नपनि नपाउने भन्ने अवस्था आइसक्यो’, ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, महिला अस्मिता सुरक्षा गर्ने सन्दर्भमा एमाले जस्तो पार्टी अरु कुनै छैन । महिलाहरुलाई सामाजिकीकरण, सहभागिता तथा सम्पतिको अधिकारदेखि नीति निर्माण तहमा पुर्याउने पार्टी एमाले मात्रै हो । उहाँले निर्मला पन्तको बलात्कार पछिको हत्या प्रकरणको प्रसंग कोट्याउँदै त्यति बेला काँग्रेसले छानविन गर्न अवरोध गरेको तर काँग्रेसको सरकार, काँग्रेसको गृहमन्त्री भएको १० महिना वित्दा पनि छानविन गर्न कुनै तत्परता नदेखाएका बताउनुभयो । उहाँले चुच्चे नक्शा आइसकेपछि हाम्रो जमिन फिर्ता गर् भन्न पनि नसक्ने र जयसिंह धामी छानविनको रिपोर्ट समेत सार्वजनिक गर्न नसक्ने बर्तमान परमादेशी गठबन्धन सरकार घरको बाघ बाहिरको स्याल भएको बताउनुभयो ।
अध्यक्ष ओलीले वाईडबडी प्रसंग निकाल्दै भन्नुभयो, जसले वाईडबडी खान्छ उसैले आरोप लगाउँछ, जसले २४ लाख कोभिड भ्याक्सिन खान्छ उसैले पाँच हजार तिरेर भ्याक्सिन लगाएँ भनेर बकवास गर्छ । उहाँले माओवादी केन्द्रका नेता कार्यकता एमालेमा धमाधम प्रवेश गरी रहेको प्रसंगलाई संकेत गर्दै माओवादी रित्तिदै गएको बताउनुभयो ।
बाघबजारतिर ट्युसन सेन्टर खोलेकाहरुलाई बालकोटतिर आए केटाकेटी खोजी दिने अध्यक्ष ओलीले बताउनुभयो । उहाँले अहिलेको सरकारले देशको अर्थतन्त्र तहसनहस बनाएको बताउँदै उद्यमी तथा ब्यवसायी रुने अवस्थामा पुगेको धारणा ब्यक्त गर्नुुभयो । एमालेको सरकार हुँदा १२ महिना पुग्ने विदेशी मुद्रा सञ्चिति गरेका थियांै आयात घटाएर निर्यात बढाएका थियां,ै ब्यापार असन्तुलनबाट सन्तुलन कायम गरेका थियौं तर अहिले सरकारले सवै तहसनहस बनायो ।
आसन्न निर्वाचनमा देश बिगार्ने गठबन्धनलाई परास्त गर्नुपर्ने बताउँदै अध्यक्ष ओलीले देश बनाउने भन्दै उम्मेदवार बन्नुभएका सवैसँग हाम्रो पार्टीको कुनै आग्रह छैन भन्नुभयो ।