२० असार २०८३, शनिबार 1783159406
Banner

मैले कांग्रेसलाई प्रधानमन्त्रीको अफर गरेको छैन, गगनजी यति तल झरेको देख्दा दया लागेको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता परिवर्तनका लागि कांग्रेससँग पहल नगरेको प्रष्टीकरण दिएका छन्। कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसका महामन्त्री गगन थापाल प्रचण्डले हप्ताको एकचोटी कांग्रेसलाई प्रधानमन्त्री बनिनिदिन आग्रह गरेको दाबी गरेपछि प्रचण्डले त्यसलाई अस्वीकार गरेका हुन्।

शनिबार खुमलटारमा आयोजित एक कार्यक्रममा बोल्दै देउवासँग आफ्नो सरकार परिवर्तनको बारे कुनै कुरा नभएको भन्दै महामन्त्री थापालाई आफ्नो अभिव्यक्तिबारे आत्मसमीक्षा गर्न आग्रह गरे।

उनले भने, ‘सत्ता परिवर्तनको कुरा अघि बढाएको कुरा बिल्कुल होइन । यो भन्दा सफेद झुट अरु केही हुनै सक्दैन। मैले त अहिले बोल्न पनि चाहिरहेको थिइनँ, यो विषयमा। अब तपाईंहरुले सोधिहाल्नुभयो। गगन थापालाई मैले एउटा युवा नेताको रुपमा उहाँसँग धेरै संवाद, सहकार्य हुने गर्दथ्यो ।

अहिले केही महिनाभित्रै उहाँमा आएको परिवर्तन र उहाँले यति तल झरेर हुँदै नभएको झुटो कुरो जनतासँग बोलेको देख्दा गगनजीप्रति मलाई साँच्चै दया लागेको छ। कति तल कति छिटो झर्न सकेको हो।’ राम्रो सम्भावना बोकेको युवा नेता यति छिटो, यति अनैतिक र झुटो कुरा गर्नसक्ने भएको देख्दा दया लागेको उनको भनाइ छ।