काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ५ किलो ७ सय ग्राम सुन तस्करी घटनामा पक्राउ परेका तीनै जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले पक्राउ परेका एक चिनियाँ र दुई म्यानमारका नागरिकलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । अदालतको आदेशसँगै चिनियाँ नागरिक जियान योङ र म्यानमारका साट नेइङ टन र इङ ङोन फू कारागार चलान भएका हुन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रवक्ता लोकराज ढुंगानाले उनीहरूलाई अदालतमा उपस्थित गराइएकाले अब कारागार चलान गरिने बताए । भन्सार कार्यालयले उनीहरूविरुद्ध सुन भन्सार चोरी पैठारीको कसुरमा ८ करोड भन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो । १६ मंसिरमा दायर भएको मुद्दा तीन दिनको सुनुवाइ पछि मंगलबार आदेश आएको हो ।
दुबईमा भरिया खोजेर तस्करी
अनुसन्धानका क्रममा चिनियाँ नागरिकको योजनामा सुन तस्करी भएको देखिन्छ । पक्राउ परेका चिनियाँ यसअघि समेत काठमाडौं आएको समेत खुलेको छ । चिनियाँ नागरिक जियान योङ एक महिनाअघि १० असोजमा मात्रै काठमाडौं आएको उनको पोसपोर्टबाट खुलेको छ । यसअघि पनि उनी काठमाडौं आएर फर्केकाले सुन तस्करी भएको हुनसक्ने भन्दै सोही अनुसार भन्सार कार्यालयले अनुसन्धान अघि बढाएको थियो । जस क्रममा उनकै योजनामा यो सुन तस्करी भएको खुलेको छ । जियान योङ १० असोजमा काठमाडौं आएर त्यसै दिन फर्केका थिए । यसबाट उनको ट्राभल नै संकास्पद देखिएको थियो । संकास्पद राडरमा राखिएका उनै जियान एक महिनापछि फेरि आएपछि जाँचमा कडाइ गर्दा सुन ल्याएको खुलेको थियो । पक्राउ परेकामध्ये दुई म्यानमारका नागरिक भने पहिलो पटक काठमाडौं आएका हुन् । शारजहामै अर्का एक एजेन्टमार्फत कन्ट्याक भएर उनीहरू सुन बोकेर आएको अनुसन्धानबाट खुलेको छ । ‘चिनियाँ नागरिकको योजनामा दुबईमा भरियो खोजेर सुन बोकाएर ल्याएको देखिन्छ । पक्राउ परेका महिला र पुरुया म्यानमारी नागरिक भरिया रहेको पाइयो,’ भन्सार कार्यालयका एक अधिकृतले भने ।
स्पिकरमा फल्स बटम बनाएर तस्करी
२० कात्तिकको साँझ दुबईको शारजहाबाट एयर अरेबियाको उडान नम्बर जी९५३० मार्फत उनीहरू तीन जना काठमाडौं आएका थिए । यसअघि एक दिनमात्रै काठमाडौं आएर फर्केका चिनियाँले पहिल्यै संकास्पल घेरामा थिए । जसकारण पनि चिनियाँको यो टोलीमाथि थप शंका गर्दै सुरक्षा जाँच गरिएको थियो । उनीहरूको लगेज जाँच गर्दा त्यसमा केही फलामजन्य वस्तु भेटिएको थियो । आफूले स्पिकर ल्याएको चिनियाँले बताएका थिए । थप शंका लागेपछि ती स्पिकर समेत खोलेर हेर्दा सुन ल्याएको खुलेको थियो । उनीहरूले १२ वटा स्पिकरमा फल्स बटम बनाएर सुन तस्करी गरेको खुलेपछि सशस्त्र प्रहरी र भन्सारको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । १२ वटा स्पिकरमा फल्स बटम बनाएर रिङ आकारको सुन उनीहरूले ल्याएका थिए ।