३ पुस २०८१, बुधबार 1734535886
कला/साहित्य

भारत–नेपाल सांस्कृतिक महोत्सव सम्पन्न

काठमाडौँ, २३ मङ्सिर : नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा सांस्कृतिक महोत्सवको दोस्रो संस्करण सम्पन्न गरेको छ ।

उक्त महोत्सवमा लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री प्रचण्डविक्रम न्यौपाने, प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा र काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवलगायत उपस्थित हुनुहुन्थ्यो ।

दुवै देशका प्रसिद्ध कलाकारहरुको प्रस्तुतिसहितको सांस्कृतिक कार्यक्रमको मुख्य आकर्षण शिखा शर्माको नेतृत्वमा भारतबाट आएको आठ सदस्यीय समूहको बौद्ध धर्मसँग सम्बन्धित कत्थक नृत्य प्रस्तुति रहेको थियो । प्रस्तुतिलाई नयाँ दिल्लीस्थित भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) ले सहयोग गरेको थियो ।

सोही कार्यक्रममा स्वजन रघुवंशी र उहाँको समूहले परम्परागत नेपाली नृत्य प्रस्तुत गरेका थिए । यस महोत्सवको हिस्साको रूपमा भारतबाट आएका कत्थक नृत्य समूहले काठमाडौँ र पोखरामा आफ्नो प्रस्तुति दिने यहाँस्थित भारतीय दूतावासले जनाएको छ । दुई देशका जनताबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै यस सांस्कृतिक महोत्सवले भारत र नेपालबीचको सदियौं पुरानो, विशिष्ट र घनिष्ट सम्बन्धलाई सुदृढ गर्ने लक्ष्य राखेको छ ।