२७ मंसिर २०८१, बिहिबार 1734025118
राजनीति

सार्वजनिक बिदाको सङ्ख्या घटाउन सुझाव

काठमाडौँ । सांसदहरुले सार्वजनिक बिदाको सङ्ख्या घटाउन सरकारलाई सुझाव दिएका छन् ।  बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनीहरूले नेपालमा धेरै बिदा हुँदा जनतामा सहज रूपमा सेवा प्रवाहमा समस्या भएकाले बिदाको सङ्ख्या घटाउन सरकारलाई सुझाव दिएका हुन् । सांसद अमरेशकुमार सिंहले वर्षमा ३० दिनभन्दा बढी बिदा नपाउने व्यवस्था गर्न सुझाव दिए । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर छलफलका क्रममा उनले हरेक कुरामा बिदा दिने प्रचलनले समयमा नै काम नहुने र जनतालाई समेत समस्या पर्ने देखिएको बताए ।

त्यस्तै सांसद श्याम घिमिरेले खरदारसम्मका लागि कर्मचारी नीति क्षेत्रको कम्पनीबाट लिनुपर्ने र पाँचौँ तहबाट मात्रै निजामती सेवामा कर्मचारी लिनुपर्ने सुझाव दिए । बैठकमा सांसद माधव सापकोटाले समितिको बैठकबारे बिहान साढे दश बजेमात्र जानकारी आएको र तयारी नगरेकाले छलफलमा भाग नलिने बताए । २४ वटा बुँदामा संशोधन दर्ता गरेपनि पर्याप्त छलफल हुने अवस्था नदेखिएको जिकिर गरे । समितिका सभापति रामहरि खतिवडाले निरन्तर बैठक भएकाले सूचना पठाउन ढिलाइ भएको जवाफ दिए । सभापति खतिवडाले समितिमा रहेका विधेयकलाई निष्कर्षमा पुराउनका लागि समिति निरन्तर क्रियाशील रहेको उल्लेख गरे ।