३० जेष्ठ २०८३, शनिबार 1781369797
Banner

रवि लामिछानेको हिरासतभित्रको तस्वीर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वन्तत्र पार्टीका सभापति रवि लामिछानेको तस्वीर सार्वजनिक भएको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन् । बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख बसन्त बहादुर कुँवरलाई उक्त विषयमा छानविन गरी दोषी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । बुधबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सामाजिक सञ्जालमा हिरासत कक्षभित्रको तस्बीर भन्दै सार्वजनिक गरेका थिए ।

मन्त्री लेखकले उक्त तस्बीरको विषयमा छानविन गरी दोषीलाई तत्काल कारबाहीका लागि प्रहरी प्रमुखलाई निर्देशन दिएको जानकारी दिए । ‘यो विषयमा छानविन गरी दोषी जोसुकै भएपनि कारबाहीको दायरामा ल्याउन आइजिपीलाई निर्देशन दिएको छु’,  गृहमन्त्री लेखकले भने, ‘हिरासतमा रहेको दाबी गरिएको तस्बीरको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ ।’ त्यसैगरी प्रहरी प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले पनि तस्बीर सार्वजनिक गरिएको भनिएको विषयमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिए ।