भक्तपुर । नेकपा एमाले सूर्यविनायक नगर कमिटीको पहिलो पुर्ण बैठक सम्पन्न भएको छ । शुभकामना पार्टी प्यालेस सूर्यविनायकमा शनिबार सम्पन्न बैठकले ७ वटा महत्वपुर्ण बिषयमा छलफल गरेको हो । पहिलो पूर्ण बैठकले वार्षिक कार्य योजना, कार्यालय व्यवस्थापन, आर्थिक व्यवस्थापन, कार्य विभाजन, सचिवालय गठन, खाता संचालन र अन्य विविध विषयमा छलफल गरेको छ ।
नगर कमिटीका अध्यक्ष राजु लुवन्जार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले नगरकमिटीका सम्पूर्ण पदाधिकारी र सदस्यहरुको कार्यबिभाजन समेत गरेको छ ।
कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य एवं भक्तपुर जिल्ला इन्चार्ज महेश बस्नेतले पार्टीले दिएको जिम्मेवारीलाई सवैले अनुशासित भएर पालना गर्न निर्देशन दिनुभयो । पार्टीभित्र बसेर गलत आचरण साथै पार्टीको हित विपरित गर्ने जो कोहीलाई पनि कारबाही हुने बताउनुभयो । पछिल्लो समय पार्टीले केन्द्रिय नेताहरुलाई पनि कारबाहि गरेको प्रसंग कोट्याउँदै उहाँले गलत आचरण पटक पटक दोहोरयाएकै कारण भीम रावल लगायत अन्य नेतालाई कारबाहि भएको बताउनुभयो ।
पार्टीको जिम्मेबार नेताले आफना आचरण र व्यवहारलाई पार्टीको हित विपरित प्रयोग गर्न नहुने उहाँको सुझाब थियो । पार्टीको विधि र पद्धतिमा सवैले हिडनुपर्छ भन्दै उहाँले मिसन ८४ लाई सफल बनाउन अहिलेदेखि नै टोल टोलमा मसिनो ढंगले काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले पार्टीले दिएको कार्यविभाजनलाई गम्भिरताका साथ पुरा गर्न निर्देशन दिनुभयो । पार्टीलाई चलायमान बनाउन तल्लो कमिटी राम्रो हुनुपर्ने भन्दै चुनावको समयमा मात्र होइन हरेक छ / छ महिनामा खटिएका व्यक्ति तल्लो तहसम्म पुग्नुपर्छ उहाँले भन्नुभयो । पार्टीको नियम बिरुद्ध सामाजिक सञ्जालमा मन लाग्दी लेख्ने, एमालेको अनुशासन नमान्ने नेता कार्यकर्तालाई पार्टीले कारबाही गर्ने उहाँको चेतावनी थियो ।
कार्यक्रममा सूर्यविनायक नगर कमिटी ईन्चार्ज शशिजंग थापाले कार्ययोजनाका बारेमा जानकारी दिनुहुदै बनेका योजना अनुरुप अघि बढ्न निर्देशन दिनुभयो ।
नेकपा एमाले केन्द्रिय सदस्य निर्मल भटटराईले पार्टीलाई चलायनमान बनाउन कामगर्नेलाई हौसला र काम नगर्नेलाई कारबाहिको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नगर कमिटीका नवनिर्वाचित अध्यक्ष राजु लुबन्जार श्रेष्ठले बार्षिक कार्ययोजनाका बारेमा छलफल गदै बिभिन्न १९ वटा विभाग प्रमुख चयन गरेको बताउनुभयो । नगर सदस्यलाई नगर भित्र रहेका १० वटै वडाका टोल कमिटी ईन्चार्जको जिम्मेवारी दिइएको उहाँले बताउनुभयो । साथै बैठकले १७ सदस्यीय सचिवालयको समेत गठन गरेको छ । जसमा अध्यक्ष राजु लुबन्जार श्रेष्ठ, बिनय महत, धर्मराज बस्नेत, दिनेश थापा, सुनिता देउजा,चन्द्रकृष्ण श्रेष्ठ, रन्जना खनाल, मधु थापा,भुवन केसी, हरिशरण बस्नेत, राकेश थापा लगायत रहनुभएको छ । बैठकले जागरण अभियान गर्ने, घरदैलो कार्यक्रम गर्ने, फागुन महिना भरीमा सदस्यता वितरण गर्ने, मतदाता लगत संकलन गर्ने, टोल कमिटी गठन गर्ने, बैठक गर्ने जस्ता गतिबिधीहरुलाई नगर कमिटीले अब अगाडी बढाउने बताईएको छ ।
बैठकमा भक्तपुर जिल्ला कमिटी उपाध्यक्ष एवं बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, वडा अध्यक्ष रविन्द्र सापकोटा, सानुकाजी कायस्थ, जिल्ला कमिटी तथा नगर कमिटीका पदाधिकारी एवं सदस्यहरु लगायत नेताहरुको सहभागिता रहेको थियो ।
नगर कमिटी अध्यक्ष राजु लुबन्जार श्रेष्ठको अध्यक्षतामा सम्पन्न पहिलो पूर्ण बैठकको सञ्चालन नगर कमिटी सचिव धर्मराज बस्नेतले गर्नुभएको थियो