विराटनगर । मोरङ कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु भएको छ । हाडनाता करणी मुद्दामा दोषी ठहर भइ कैद भुक्तान गरिरहेका बेलबारी नगरपालिका–४ का ६७ वर्षीय अम्मरबहादुर राईको मृत्यु भएको हो । जेलर गौरव ढुंगेलका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि राईलाई उपचारका लागि दिउँसो २ः१५ बजेतिर कोशी अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा उनको दिउँसो मृत्यु भएको हो । जिल्ला अदालत मोरङले २०७३ साल माघ ९ गते उनलाई १४ वर्ष कैद सजाय सुनाएको थियो । राई २०७३ जेठ २३ गतेबाट कारागारमा थिए । महिला र पुरुष गरी ३ सय क्षमता रहेको मोरङ कारागारमा १ हजार १ सय १० जना कैदीबन्दी छन् ।