काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ल्याउन तयार गरिएको कृषि विधेयक मस्यौदा २०८१ को सम्बन्धमा सरोकारवालाबीच छलफल सम्पन्न भएको छ । अखिल नेपाल किसान महासंघद्धारा आयोजित छलफल कार्यक्रममा कृषिसँग सम्बन्धित सरोकारवालाहरुको बीचमा कृषि विधेयकमा प्रस्ताव गरिएका प्रावधानका विषयमा छलफल भएको हो।
मस्यौदामा उल्लेख गरिएका विषय, प्रस्तावित प्रावधान, नसमेटिएका क्षेत्र, थप हुनु पर्ने विषय लगायतमा बिषयमा कृषि तथा पशुपंक्षि विकास मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठले स्पष्ट पार्नुभएको थियो । उहाँका अनुसार कृषि पेशालाई सम्मानजनक आकर्षक एंव प्रतिस्पर्धी पेशाका रुपमा अगाडि बढाउन अझै चुनौती भएको बताउनुभयो । बेलामा मल नपाउनु, कृषिमा दिइने अनुदानबाट अरुले फाइदा लिनु, कृषिबाट आम्दानी बढाउन नसक्दा किसानको आकर्षण घटदै गएको उहाँले बताउनुभयो । कृषिमा आकर्षण बढाउन माटोका लागि राष्ट्रिय अभियान चलाउनुपर्ने बताउदै रैथानी बालीको बिस्तारका लागि पनि प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । सरकारले १ अर्व पैसा रैथाने बाली विस्तारका लागि प्रयोग गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने गरि विधेयकमा प्रावधानहरु राखि लागु गर्नुपर्नेमा जोड दिनुभयो । प्रस्ताविक कृषि विधेयकमाथि सुक्ष्म र गहन रुपमा अध्ययन र पर्याप्त छलफल हुनुपर्ने र छलफल तथा अन्तरक्रियाबाट आएका सुझावलाई समेटिनुपर्ने उहाँको सुझाब थियो । कृषिमा युवाको आकर्षण बढाउन भुमि, सिचाई, ऋण, विमा जस्ता सुविधालाई विशेष महत्व दिनुपर्ने बताउनुभयो ।
कृषिको व्यवसायीकरण र आधुनिकीकरण अहिलेको आवश्यकता रहेको बताउँदै सहभागीहरुले स्वदेशमा कृषि उत्पादन बढाउँदै आयात प्रतिस्थापन गर्न सरकारले नीतिगत र कानुनी रुपमै स्वदेशी वस्तुलाई प्रवद्र्धन गर्नुपर्ने बताएका छन् ।
छलफल कार्यक्रममा कृषि संग सम्बन्धित कृषक, उद्यमी, व्यवसायी, किसान महासंघका सदस्यहरु, कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।