काठमाडौँ, २० पुसः नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ का लागि ‘सपनीमा’ बोलको गीत तयार भएको छ । उक्त गीतमा शब्द र सङ्गीत करुण थापाले दिनुभएको छभने गायिका इन्दिरा जोशी र गायक करण परियारको स्वर रहेको छ । सङ्गीतकार थापा २० वर्षपछि यही गीतमार्फत पाश्र्व सङ्गीतमा फर्किनुभएको हो । सन् २००४ मा ‘बादल वर्षा बिजुली’ बोलको गीतपछि चलचित्रका लागि पहिलोपटक गीतसङ्गीत तयार गरेको उहाँले बताउनुभयो । “मैले चलचित्रको गीत लेखन र सङ्गीतको काम छाड्नुको कारण उक्त समयमा गीतसङ्गीतलाई हल्का रूपमा प्रयोग गर्ने प्रचलन मुख्य थियो, त्यसैले मैले व्यर्थका गीतहरू लेख्न र सिर्जना गर्न सकिन”, उहाँले भन्नुभयो ।
उहाँलाई ‘बादल वर्षा बिजुली’ झैँ गीत तयार गर्न धेरै चलचित्रकर्मीले आग्रह गर्नुभएको रहेछ तर सङ्गीतकार थापा तयार हुनुभएन । त्यसपछि गीतिसङ्ग्रहमा मात्र काम गर्नुभएका सङ्गीतकार थापा पुनः चलचित्रमा काम गर्न तयार हुनुको कारण भने निर्देशक दीपेन्द्र गौचन रहेको बताउनुुहुन्छ । चलचित्रको विषयवस्तु बुझेपछि र गीतको प्रसङ्ग थाहा पाएपछि सङ्गीतकार थापाले शब्द र सङ्गीत सिर्जना गर्नुभयो । त्यसपछि उहाँले चलचित्रको विषयअनुसार पुरुष गायनमा परियार र महिला गायनमा जोशीलाई छनोट गर्नुभएको जनाइएको छ । “म नेपाल आइडल नामक साङ्गीतिक प्रतियोगितामा पुग्दा नै गायक परियारको गायनबाट प्रभावित थिए । महिला स्वरका लागि मलाई गायिका जोशी उपयुक्त लाग्नुभयो”, सङ्गीतकार थापाले भन्नुभयो । यसरी गीतमा तीन पुस्ताको सहकार्य सम्भव भएको उहाँले बताउनुभयो । गायिका जोशीले यो सहकार्यमार्फत आफूले सिक्ने अवसर पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई आफूभन्दा अग्रज र आफैँ निर्णायक रहेको प्रतियोगितामार्फत उदाएका अनुजसँग काम गर्न पाउँदा निकै खुसी लागेको छ । चलचित्रको विषयअनुसार नै सहरिया युवतीका लागि मैले स्वर दिएकी हुँ ।” गायक परियारले आफ्नो पाश्र्व गायनमा उदाउने सपना पूरा भएको बताउनुभयो । “म चलचित्रका गीतमा स्वर दिन चाहन्थे, यो सपना पूरा भएको छ । मैले न्याय गर्न सकेको छु भन्ने लागेको छ ।
आफ्नै गुरु गायिका जोशी र अग्रज सङ्गीतकार थापासँग काम गर्न पाउनु मेरा लागि अवसर र चुनौती दुवै थियो । मैले सङ्गीतमा देखेको एउटा सपना पूरा भएकामा खुसी छु”, उहाँले भन्नुभयो । चलचित्रका निर्देशन गौचनले विषयवस्तुअनुसार गीतको अडियो र श्रव्यदृश्य तयार गरिएको बताउनुभयो । वृत्तचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित हुनुभएका निर्देशक गौचनले ठूलो पर्दाका लागि पहिलोपटक चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गर्नुभएको हो । उहाँले पहाडी समुदायको केटी र मधेशी समुदायको केटाको रहनसहन तथा मेलमिलापको विषयवस्तुलाई पर्दामा ल्याएको बताउनुभयो । यो चलचित्र आगामी माघ ११ गते प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।