काठमाडौँ : काठमाडौँ महानगरपालिकामा गत आर्थिक वर्षको तुलनामा यसवर्ष रूख कटान र जल उत्पन्न विपद्का घटना बढेका छन् । यस वर्षको पुस मसान्तसम्म दुई सय ३४ विपद्का घटना भएको कामपाले जनाएको छ । कामपा विपद् व्यवस्थापन विभागका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार चालु आवको पुस मसान्तसम्म सबैभन्दा धेरै रूख कटानका कारण ७७ र जल उत्पन्न प्रकोपका कारण ५० घटना भएका छन् ।
त्यसैगरी विद्युत्बाट आगालागीका घटना ५९, खाना पकाउने ग्यासबाट २ र अन्य विभिद्का घटना १२ रहेको विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार कामपा क्षेत्रमा बत्तीको पोलमा हुने आगलागीका घटना बढी नै छन् । जोशीका अनुसार सडक किनारामा रूप रोप्ने काम जारी रहेको र पुराना रूख व्यवस्थापनको काम नभएकाले रूखबाट हुने विपद्का घटना बढेको हो । यस्ता घटनामा कमी ल्याउन कामपाले पुराना रूख व्यवस्थापनको काम गरिरहेको उहाँले जानकारी दिनुभयो । गत आर्थिक वर्षभरमा विभिन्न प्रकारका गरी चार सय ३१ विपद्का मात्र घटना घटेका थिए । यसरी बत्तीको पोलमा हुने आगलागीका घटना विभिन्न इन्टरनेट सेवा प्रदायक संस्थाले अस्तव्यस्त रूपमा राखेको तारको कारणले हुने गरेको कामपाको ठहर छ ।
त्यसैगरी जीर्ण खाना पकाउने ग्यास सिडिण्डरको प्रयोग, ग्यास पाइप र लेगुलेटरको नियमित परीक्षण नगर्दा र वार्षिक रूपमा नफेर्दा आगोजन्य विपद्का घटनामा कमी आउन नसकेको उपरीक्षक जोशीको भनाइ छ । विपद्का घटना बढ्न थालेपछि कामपाले यसको नियन्त्रणका कृतिम अभ्यास र सर्वसाधारणको लागि जनचेतनाका कार्यक्रमसमेत गर्न थालेको छ । कृतिम अभ्यासअन्तर्गत सुरक्षित तबरबाट आगो कसरी निभाउने, सडक दुर्घटना भएको समयमा घाइतेलाई तत्काल अस्पतालसम्म कसरी लैजाने जस्ता विषयमा जानकारी गराइरहेको छ । कामपाले आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा ड्राइ राइजर जडानको काम तीव्र रूपमा अघि बढाएको छ । कामपाको वडा नम्बर ६, ७, ९, १३, १७, १८, २१, २५ र २७ ड्राइ राइजर जडान भइसकेको छ भने अन्य वडाहरूमा आवश्यकताअनुसार उक्त प्रविधि जडान भइरहेको छ ।