काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपालको जैविक विविधता जोगाउनुपर्ने चुनौती रहेको बताएका छन्। ४६ औं पर्यटक प्रहरी दिवसको अवसरमा काठमाडौँमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालमा पर्यटनको विकास र प्रवर्द्धनका लागि जैविक प्राकृतिक विविधतालाई जोगाउनुपर्ने चुनौती रहेको बताए।
पर्यटन क्षेत्र एक्लै अघि बढ्न नसक्ने भन्दै पाण्डेले सबैको समन्वय र सहकार्यमा पर्यटन क्षेत्रको प्रवर्द्धन जरुरी रहेको जिकिर गरे। नदीको प्राकृतिक बहावमा अतिक्रमण गर्न नहुने उनको भनाइ छ। bपर्यटनमन्त्री पाण्डेले नेपालमा पर्यटनको अनुकूल वातावरण छ भन्ने कुरा सरकारले स्थापित गरेर छोड्ने बताए।
पर्यटनमन्त्री पाण्डेले अहिले नेपालमा पर्यटक प्रहरीको संख्या २४६ रहेको भन्दै पर्यटक प्रहरीको प्रभावकारिता बढाउँदै लैजानुपर्ने बताए। उनले कर्णालीको रारा र सुदूरपश्चिमको खप्तडमा प्रहरी पर्यटक लैजाने तयारी सुरु गरेको बताए। प्रहरी पयर्टकको संख्या बढाउने र २९ ठाउँमा मात्रै सीमित पर्यटक प्रहरीलाई बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त उनले जनाए।