क्यानडाले पनि अमेरिकाबाट आयात हुने वस्तुमा २५ प्रतिशतसम्म ट्यारिफ (शुल्क) लगाएको छ । क्यानडाका कार्यवाहक प्रधानमन्त्री जस्टिन ट्रुडोले १५५ अर्ब डलर बराबरको अमेरिकी आयातमा २५ प्रतिशत ट्यारिफल लगाउने घोषणा गरेका हुन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिकोबाट आयात हुने वस्तुमा २५ प्रतिशतले र चीनबाट आयात हुने वस्तुमा१० प्रतिशतले ट्यारिफ लगाउने घोषणा गरेका थिए । क्यानडाबाट आयात हुने प्राकृतिक ग्याँस र बिजुलीसहितका ऊर्जामा भने १० प्रतिशत मात्र ट्यारिफ लगाउने निर्णय अमेरिकाले गरेको छ । क्यानडाका कार्यवाहक प्रधानमन्त्री ट्रुडोले अमेरिकाको ट्यारिफ सामना गर्न तयार रहेको बताएका छन् ।
उनले प्रेस ब्रिफिङमा भनेका छन्, ‘हामी यस्तो चाहँदैनथ्यौं । ट्यारिफले केही वर्ष अगाडि भएको मुक्त व्यापार सम्झौताको उल्लंघन गर्दछ । तर यसको सामना गर्न क्यानडा तयार छ ।’ उनले अमेरिकाको यो निर्णयले अमेरिकी नागरिकलाई नै असर गर्ने पनि बताएका छन् । अमेरिका क्यानडाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । क्यानडाले अमेरिकाबाट मुख्य गरी मोटरगाडी र तिनीहरुका पार्टपुर्जा, मेसिनरी उपकरण, तेल तथा ग्याँस, औषधि तथा मेडिकल उपकरण, कृषि उत्पादन, प्लास्टिकका सामग्री, दूरसञ्चार उपकरण, फर्निचर तथा घरायसी सामग्री आयात गर्दछ ।