काठमाडौँ । बिरिसु मिडियाद्धारा आयोजित ‘तेस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८१’ को फाइनल कार्यक्रम सम्पन्न भएको छ । चावहिलको चलचित्र विकास बोर्डमा गणतन्त्र नेपालका पहिलो उपराष्ट्रपती सम्माननिय परमानन्द झाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । अवार्ड कार्यक्रममा समाजमा विशिष्ट योगदान दिने व्यक्तिहरुलाई सम्मान पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा नारी टेलिसिरियलका कलाकार टिमको विशेष उपस्थिती रहेको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै सम्माननिय परमानन्द झाले निजी संस्थाहरुले सम्मान र अवार्ड कार्यक्रम गरेर नयाँ पुस्ताका कलाकारलाई हौसला प्रदान गरेको र पुराना कलाकारहरुलाई सम्मान गरेकोमा खुशी व्यक्त गरे । उनले बिरिसु मिडियाको प्रशंसा गर्दै भने, ‘सरकारी तहबाट गर्न नसकेको काम निजी संस्थाले आँटेर गरेको छ । यो राम्रो कामको खुलेरै प्रशंसा गर्छु ।’ बिरिसु मिडिया प्रा।लिका निर्देशक एंव कार्यक्रम संयोजक सुस्मिता स्याङ्तानले अवार्ड कार्यक्रम भव्य रुपमा सफल भएको र नेपालको इतीहासमै सबैभन्दा बढी समेटिएको बताइन ।


