१७ असार २०८३, बुधबार 1782949146
Banner

प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै पनि काम हुँदैन : सभामुख

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै पनि काम नहुने बताएका छन् । इकोनोमिक मिडिया एशोसिएसन नेपाल (इमान) को दोस्रो वार्षिकउत्सवका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले संसदमा बिचाराधीन विधेयकमाथि सञ्चारकर्मीको चासोप्रति आफु जानकार रहेको भन्दै प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने कुनै पनि काम नहुने बताएका हुन् ।

प्रेस स्वतन्त्रता देशको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वको आधार भएको उनले बताए । सभामुख घिमिरेले लोकतन्त्रको आधारभूत सिद्धान्त सशक्त प्रेस, पारदर्शिता र उत्तरदायी शासन प्रणाली भएको धारणा राखे । कुनै पनि कानुनले प्रेस स्वतन्त्रतालाई कमजोर पार्ने काम गर्न नहुने र प्रेस स्वतन्त्रताप्रति आफु प्रतिवद्ध रहेको उनले बताए ।

उनले बिगतका आर्थिक नीतिलाई परिमार्जन गर्दै नयाँ अवसर खोज्नका लागि सरोकारवाला निकायबिच समन्वय हुनुपर्ने जिकिर गरे । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा रोजगारी सिर्जना गर्ने, सरकारलाई कर तिर्ने पूर्वाधार बनाउने काम अभिसाप हो कि जस्तो देखिएको बताए ।

उनले पूर्वाधार निर्माणमा राजनीतिक नेताहरुकै विरोध आउने गरेको भन्दै यसले समाजमा राम्रो सन्देश नजाने जिकिर गरे । ढकालले पूर्वाधार निर्माणमा अवरोध भए समृद्ध नेपालको अभियान सफल हुन नसक्ने बताए । कार्यक्रममा बिभिन्न संस्था र व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।