३१ श्रावण २०८३, आइतबार 1786934329
Banner

ज्ञानेन्द्र शाहीको आरोप : प्रधानमन्त्री ओलीको निर्देशनमा आदित्यनाथको फोटो राख्न लगाइयो

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागतका लागि आइतबार भीडमा भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो राखिएको विषयमा राप्रपा सचेतक ज्ञानेन्द्र शाहीले गम्भीर आरोप लगाएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा उनका प्रमुख सल्लाहकार विष्णु रिमालले आदित्यनाथको फोटो राख्न लगाएका पाइएको सांसदसमेत रहेका शाहीले फेसबुकमा लेखेका हुन्। 

हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओली ज्युको निर्देशनमा प्रधानमन्त्री ज्युका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ,’ उनले सोमबार बिहान फेसबुकमा लेखेका छन्, ‘नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन् छि छि।

विदेशीको एजेन्डा र सिद्धान्तमा पार्टी चलाउनेहरूले ठुलो कुरा गरेको देख्दा अचम्म लागेको र मार्क्स, लेनिन, माओ कुन देशका हुन् ? भन्दै उनले प्रश्न पनि गरेका छन्।  हिजो विमानस्थलनजिक पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्ने क्रममा आदित्यनाथको फोटो प्रयोग भएपछि यसप्रति चौतर्फी चर्चासँगै आलोचना भएको थियो।