६ आश्विन २०८१, आइतबार 1727061490
Banner

एमाले अध्यक्ष ओलीले आज भरतपुर र बुटवलमा हुने सभालाई सम्बोधन गर्नुहुने

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली स्थानीय चुनावको ‘इपिसेन्टर’ मानिएको भरतपुरको चुनावी सभालाई सम्बोधन गर्न आज जाँदै हुनुहुन्छ ।

अध्यक्ष ओलीको सचिवालयका अनुसार अध्यक्ष ओली भरतपुरमा दिउँसो ३ बजे जाने कार्यक्रम छ । भरतपुरमा अध्यक्ष ओलीसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेनु दाहाल उम्मेदवार भएकाले भरतपुर सर्वाधिक चर्चित स्थानीय तह हो । दाहाललाई जसरी पनि जिताउन राज्यका सबै स्रोत साधन खर्च भएपछि चुनावी माहौल झन् तातिएको छ ।

दाहाललाई ब्रेक लगाउन कांग्रेसका पूर्वसांसद जगन्नाथ पौडेल मैदानमा हुनुहुन्छ । एमालेले निवर्तमान प्रदेश सांसद विजय सुवेदीलाई उम्मेदवार बनाएको छ ।

अघिल्लो स्थानीय चुनावमा हार्ने निश्चित भएपछि मतपत्र च्यातेर पुनः निर्वाचन गराएर रेनुलाई मेयर बनाइएको थियो ।

अध्यक्ष ओली भरतपुर अघि दिउँसो १२ बजे बुटवलमा हुने सभालाई सम्बोधन गर्न जाँदै हुनुहुन्छ ।

बुटवल उपमहानगरमा नेकपा एमालेले बाबुराम भट्टराईलाई मेयरको उम्मेदवार बनाएको छ भने, सत्ता गठबन्धनबाट कांग्रेस नेता खेलराज पाण्डे साझा उम्मेदवार छन्।

बुटवलमा एमाले विगतको विरासत जोगाउन लागिपरेको छ भने, कांग्रेस एमालेलाई पराजित गरि नेतृत्व फर्काउन कस्सिएको छ। उपमेयरतर्फ एमालेले पार्टीका केन्द्रीय सदस्य सावित्रा अर्याललाई उम्मेदवार बनाएको छ भने, गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का नेता चीनबहादुर गुरुङलाई साझा उम्मेदवार बनाएको छ।