नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले मुलुकमा सुशासन स्थापित गर्न सामाजिक र सांस्कृतिक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी नेपालका केही ऐन संशोधन गर्ने विधेयक–२०८१ माथि छलफलका क्रममा शर्माले सुशासनका लागि जनताको विश्वास जित्न नेतृत्व सक्षम हुनुपर्ने बताए। उनले भ्रष्टाचारमा संलग्न राजनीतिक नेतृत्वको सम्पत्ति छानबिन गरी राष्ट्रियकरण गर्नुपर्ने धारणा राखे। साथै, संवैधानिक आयोगहरूको कामकाज पारदर्शी हुनुपर्नेमा पनि उनले जोड दिए।
‘सुशासन अझै स्थापित हुन सकेको छैन, हाम्रो प्रणाली कुसासनतर्फ धकेलिएको छ। त्यसैले जनताको विश्वास जित्नु पहिलो आवश्यकता हो। संवैधानिक आयोगहरूले गर्ने निर्णय पारदर्शी र जनताले स्वीकार गर्ने खालका हुनुपर्छ,’ शर्माले भने। उनका अनुसार भ्रष्टाचार राजनीतिक नेतृत्वमा केन्द्रित भएकाले यसको प्रभावकारी नियन्त्रण जरुरी छ। ‘यदि राजनीतिक नेतृत्वको सम्पत्ति छानबिन गरेर राष्ट्रियकरण गर्न सकिन्छ भने त्यसलाई जनतालाई स्पष्ट पार्दै त्यागको भावनाबाट राज्य सञ्चालन गर्नुपर्छ,’ उनले थपे। शर्माले नेतृत्वलाई खबरदारी गर्दै जनताको निर्देशनअनुसार चल्नसक्ने शासन प्रणाली र संस्कार विकास गर्नुपर्ने बताए। उनले कानुनमा रहेका अस्पष्ट र द्वैध अर्थ लाग्ने प्रावधानहरू संशोधन गर्नुपर्ने आवश्यकता पनि औंल्याए।