काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सत्तारुढ दलहरूबीच कुनै खटपट नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले कांग्रेस–एमालेबीचको सहमतिबमोजिम सरकार अघि बढ्ने जिकिर गरे ।
‘सत्तारुढ दलमा कुनै खटपट छैन । कुनै नेता, कुनै मन्त्रीको विदेश भ्रमणमा जाँदा, कोही व्यक्तिले कुनै स्टाटस लेख्दा सरकार खटपट हुन्छ भन्ने कुरा कसरी भन्न सकिन्छ ?,’ बर्तौलाले भने, ‘कांग्रेस–एमालेबीचमा उच्चस्तरीय समझदारी बनेर बनेको सरकार हो । पार्टीको संस्थागत निर्णयबाट सत्ता सहयात्रा गरिरहेका छौं ।’
उनले कसैले रोटी सेक्ने मनसाय राखेको भए आफूहरूलाई थाहा नहुने जिकिर गरे । ‘हामीबीच कुनै समस्या, अन्तरविरोध, अविश्वास पनि छैन । छलफल भएको पनि छैन,’ बर्तौलाले भने, ‘बाहिर यस खालको अनुमान लगाएर कसैले रोटी सेकौं भन्ने मनसाय राख्नुहुन्छ भने उहाँहरूको कुरा भयो ।’