२८ भदौ २०८३, आइतबार 1789329390
Banner

जनतामा निराशा फैलिँदा शासन व्यवस्थामाथि संकट आउँछ : महासचिव पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार बनेपछि मुलुकमा आर्थिक र सामाजिक क्षेत्रमा सकारात्मक परिवर्तन देखिन थालेको बताएका छन्।

शुक्रबार राजधानीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार बनेपछि आर्थिक गतिविधि चलायमान भएको बताएका हुन्।

‘दुई ठूला दलबीच समझदारी भएर बनेको यो सरकार परिवर्तन हुँदैन,’ उनले भने, ‘जनता केन्द्रित काम गरिरहेकाले यसलाई स्थायित्व दिनुपर्छ।’

‘मुलुकको आर्थिक अवस्था नाजुक हुँदा र जनतामा निराशा फैलिँदा शासन व्यवस्थामाथि संकट आउँछ। यस्तो बेला प्रमुख पार्टीहरू मिलेर जनताको निराशा हटाउने, अर्थतन्त्र उकास्ने र मुलुकलाई सही बाटोमा लैजाने जिम्मेवारी हुन्छ। अहिले त्यही कर्तव्य पूरा गर्न दुई पार्टी एकजुट भएका हुन्,’ उनले थपे।

पोखरेलले चैत ११ गतेदेखि पार्टीले सञ्चालन गर्ने जनचेतनामूलक अभियानमा सरकारका राम्रा कामबारे जनतालाई जानकारी गराउने पनि स्पष्ट पारेका छन्।