काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई बिदाई गरेर पार्टी निर्माणमा लाग्न आग्रह गरेका छन्। विगतमा आफूले केन्द्रीय समितिको बैठकमा रविको पार्टी होइन राष्ट्रिय स्वतन्त्र पार्टी बनाउन गरेको आग्रह स्मरण गराउँदै उनले पार्टी जोगाउने उपाय सोच्न आग्रह गरेका छन्।
‘अत: असार १९, २०८१ मा मैले पार्टीको केन्द्रीय समितिको बैठकमा राखेको प्रस्ताव – रविको पार्टी होइन राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ , यो प्रस्तावमा नआइ सुख छैन। उनले फेसबुकमार्फत भनेका छन्, ‘रवि दाइलाई राजनीतिबाट बिदा गरी, राष्ट्रिय स्वतन्त्र पार्टी निर्माणमा लागौँ। यसले दाइलाई पनि सबै कुरा छोडेर, मुद्दा मामिलामा फोकस हुन सजिलो हुन्छ र पार्टी पनि बन्ने दिशामा अघि बढ्छ।’
लामिछाने अदालतको गोलचक्करमा फसेकाले आदेशको स्वागत गरे अगाडि बढ्नुपर्ने उनको भनाई छ। ‘मानिलिऔँ, सर्वोच्चले छोडिहाले, फेरि जिल्लाको फैसलामा जान सक्छन्। फेरि उच्चले छोड्न सक्छ। अनि फेरी सर्वोच्चले लान सक्छ। १८-२० वटा अदालतको गोलचक्कर छ।’ ढकालले भनेका छन्, ‘धरौटीमा छोड्दा पटक पटक यो देशमा न्याय जिउँदो छ भनेर अदालतको सम्मान गरेका थिए। मैले त भनेकै थिए, धेरै खुशी नहुनु। तर खुशी भएपछि, कसको के लाग्छ र , बधाई दिए। अब अदालतलाई गाली गर्नुको के तुक रहन्छ र ! हिजो जसरी अदालतको फैसलाको स्वागत गरिएको थियो, त्यसरी स्वागत गर्ने।’